काठमाडौँ–अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको शुभकामना दिने क्रममा आफ्ना विरोधीहरूविरुद्ध आक्रोश पोखेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले क्रिसमसको शुभकाना सन्देश जारी गर्दै देशका वामपन्थीलाई कटाक्ष गरेका हुन्।
‘सबैलाई क्रिसमसको शुभकामना- हाम्रो देशलाई ध्वस्त पार्न सम्भव भएसम्म सबै प्रयास गरिरहेको तर नराम्ररी असफल भइरहेको कट्टरपन्थी वामपन्थी फोहोरसहित’ , उनले लेखेका छन्।
यसैगरी उनले अब अमेरिकामा खुला सिमाना र महिला खेलकुदमा पुरुष नरहेको उल्लेख गर्दै सबैका लागि ट्रान्सजेन्डर अधिकार नभएको धारणा राखेका छन्।
उनले थप लेखेका छन्, ‘हामीसँग जे छ त्यो रेकर्ड स्टक बजार, दशकहरूमा सबैभन्दा कम अपराध दर, कुनै मुद्रास्फीति छैन र ४.३ को जीडीपी छ, जुन अपेक्षा गरिएभन्दा २ अंकले राम्रो हो।’
यस्तै ट्रम्पले भन्सार महसुलले अमेरिकाको विकास र समृद्धिमा ट्रिलियन डलर योगदान पुर्याएको र सबैभन्दा बलियो राष्ट्रिय सुरक्षा दिएको दाबी पनि गरेका छन्।
उनले लेखेका छन्, ‘हामीलाई फेरि इज्जत गरिँदै छ, सायद यसअघि कहिल्यै भएन। गड ब्लेस अमेरिका!’






