पुजार सार्की’मा आर्यन :लुक्समा आफ्नै पिताको नक्कल

काठमाडौँ । अभिनेता आर्यन सिग्देलको भनाई मान्ने हो भने, उनी नास्तिक पनि होइनन् र एकदम आस्तिक पनि होइनन् । उनी भगवान् बाहिर होइन आफ्नै मनमा छन् भन्ने कुरामा बढी विश्वास गर्छन् । यिनै आर्यन यही जेठ १० गतेबाट रिलिज हुने बहु प्रतीक्षित चलचित्र ‘पुजार सार्की’मा ब्राह्मण चरित्रमा देखिँदै छन् ।

आर्यन ब्राह्मण समुदायको र पिता पण्डित भएता पनि उनमा पूजा पाठको गुण केही थिएन । ‘म आउट अफ ट्र्याकको मान्छे हुँ । मेरो बुवा पण्डित हुनुहुन्छ । बुवा पण्डित भएता पनि म खासै टिका नलगाउने मान्छे परेँ । म मनमा भएको भगवान् देखाइरहनु पर्दैन भन्ने सोचमा विश्वास राख्छु’, आर्यन भन्छन् ।

‘पुजार सार्की’मा देखिने आर्यनको ब्राह्मण लुक उनकै पिताबाट प्रभावित छ । चलचित्रका निर्देशक दिनेश राउतले आर्यनका बुवाको तस्बिर देखेका थिए । चलचित्रका पात्रहरू ‘सेटिङ’ गर्ने क्रममा राउतलाई त्यो फोटो याद आयो । अनि आर्यनसँग सोही फोटो मागेर क्यारेक्टरमा काम गर्न थाले ।

‘मलाई पुजारीको चरित्र निभाउन मेहनत गर्नुपर्यो तर, लुक्स बनाउन भने मेहनत गर्नुपरेन । निर्देशकले मेरो बुवाको पुरानो फोटो सम्झिएका रहेछन् । उनले त्यो फोटो मागे पछि मैले दिएँ । त्यो फोटो अनुसार मेरो लुक्स ट्राई गर्ने बित्तिकै फाइनल भयो । तर, क्यारेक्टरको गहिराइबारे सोच्दा भने अलिक गाह्रो भयो,’ आर्यनले बताए ।

Comments are closed.