सेनिटरी प्याड खरिदमा आर्थिक अनियमितता, पाँचजनाविरुद्ध आरोप पत्र दायर

काठमाडौँ-– सेनिटरी प्याड खरिदमा अनियमितता गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्लाको कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल सहित ५ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरेको हो।
अख्तियारले वर्णवाल सहित, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ, सागर देवी फर्माका प्रोप्राइटर विमलेश शाहउपर आरोप पत्र दायर गरेको हो।
उपमहानगरको कार्यालयले आ.व. २०७७।०७८ र २०७८।०७९ को लागि सेनिटरी प्याड खरिदमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो। अनुसन्धान गर्दा उनीहरूले आपसी मिलेमतोमा सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि पालना नगरी/नगराई अस्वाभाविक मूल्य (प्रति प्याकेट ७९.१ रुपैयाँ) कायम गरी लागत इस्टिमेट स्वीकृत गराएका पाइएको अख्तियारको आरोप छ।
आपसी मिलेमतोमा एकै परिवारको नाममा रहेका तीन फरक फर्महरूको बोलपत्र पेश गरी प्रतिप्याकेट सेनिटरी प्याडको मूल्य ७८ रुपैयाँ कायम गरी ठेक्का दिएकोमा सोही कम्पनीको सेनिटरी प्याड खरिद गर्दा प्रतिप्याकेट २४ रुपैयाँमा खरिद गरेको देखिएकाले पछिल्लो वर्षभन्दा अघिल्लो वर्ष प्रतिप्याकेटमा ५४ रुपैयाँ दरले ९६ हजार २८० प्याकेटको जम्मा ५१ लाख ९९ हजार १२० रुपैयाँभन्दा बढी भुक्तानी गरेको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
पौडेलका अनुसार उनीहरूविरुद्ध ५१ लाख ९ हजार १२० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवाना सजायको माग दाबी गरिएको छ।

Comments are closed.