Trending Now

फिलिपिन्समा सैनिक शिविरमा गोली चलाउँदा पाँचजनाको मृत्यु

मनिला । फिलिपिन्सको दक्षिणी भागमा रहेको उत्तरी मिन्डानाओस्थित सैनिक शिविरमा शनिबार एक सैनिकले निदाएका अरू सैनिकमाथि गोली प्रहार गर्दा चारजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएको फिलिपिन्सको सेनाले जनाएको छ । हत्याका आरोपित सैनिकको पनि गोली लागी मृत्यु भएको छ ।

घटना दिउँसो १ः१० बजे भएको हो । कागायन डे ओरो सहरको क्याम्प इभान्जेलिस्टाभित्र उक्त घटना भएको हो । कमान्ड डिउटी अफिसर आर्मी मेजर एल्डन ब्रिनासका हनुसार चारजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

सुरुमा गोली हानेपछि बन्दुकधारीले अर्को कोठामा प्रवेश गर्ने प्रयास गरेको तर अरू सिपाहीले आक्रमणकारीको बन्दुक कब्जा गरेर उसलाई नै गोली हानेको ब्रिनासले उल्लेख गरेका छन् ।

अधिकारीका अनुसार गम्भीर घाइते सैनिकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहारको घटनाको अनुसन्धान भइरहेको छ । रासस

 

Comments are closed.