Trending Now

करेन्ट लागेर पाँच जनाको मृत्यु

काठमाडौं, ४ भदौ

सिरहा, कर्जन्हा नगरपालिका-२ बन्दीपुर बस्ने ६० वर्षीय राम अवतार यादवको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ । सोही ठाउँस्थित राम सागर रामदुलारी धर्मशालामा कृष्ण जन्मअष्ठमीको उपलक्ष्यमा भजन कृतन गर्ने क्रममा साउन्ड सिस्टमको माईकबाट करेन्ट लागेर अशक्त भएका उनको फुल कुमारी मिमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मोरङ, धनपालथान गाउँपालिका-७ कदमाह बस्ने ३८ वर्षीया कान्ती देवी मण्डलको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । घर पोत्ने क्रममा आफ्नै सिटी सफारी चार्ज गर्ने चार्जबाट अचानक करेन्ट लागेर अशक्त भएकी उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

रौतहट, गौर नगरपालिका-४ गढवा बस्ने मनोज यादवको छोरा ४ वर्षीय अमन कुमार यादवको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । आफ्नै घर अगाडि अटो चार्जिङ स्टेशनमा खेल्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१७ ढोडेगाउँ बस्ने ४० वर्षीय पर्शुराम कलवार र उनकै छोरा २५ वर्षीय बब्लु कलवारको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । बब्लु कलवारले आफ्नै भे.१ स ७१४० नम्बरको अटो रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा बब्लुको घटनास्थलमै मृत्यु भएको थियो । साथै उनलाई छुटाउने क्रममा उनकै बुवा पर्शुराम कलवार र उनकै हजुरआमा ८५ वर्षीया रामराज कलवारलाई समेत करेन्ट लाग्दा घाइते भई उपचारको लागि नर्सिङहोम नेपालगंज लगिएकोमा पर्शुरामको उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.