काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार अन्तिम चरणको खेल शुरु हुँदैछ। शुक्रबार चार खेल हुन लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।
दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एपीएफ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। २५ खेलबाट ३० अंक जोडेर ११औँ स्थानमा रहेको एपीएफलाई रेलिगेसनबाट जोगिन कम्तीमा बराबरीको नतिजा आवश्यकता छ। २५ खेलबाट २७ अंक जोडेर १३औँ स्थानमा रहेको फ्रेण्ड्सलाई पनि रेलिगेसनबाट जोगिन जित्नैपर्ने दबाब छ।
यस्तै दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा एफसी खुमलटार र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। २५ खेलमा २७ अंक जोडेर पुछारमा रहेको खुमलटार रेलिगेसनबाट जोगिन चर्च ब्वाईजलाई जित्नैपर्ने दबाबमा छ। चर्च ब्वाइज भने एक खेल अगाबै च्याम्पियन बनिसकेको छ।
च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन्। पुलिस २५ खेलमा ३८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने सातदोबाटो २५ खेलमा ३५ अंक पाँचौँ स्थानमा छ।
दशरथ रंगशालामा साँझ ६ बजे हुने दोस्रो खेलमा त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। आर्मी २५ खेलमा ३१ अंक जोडेर आठौँ स्थानमा रहेको छ भने हिमालयन २५ खेलमा ३१ अंक जोडेर दशौँ स्थानमा छ।
Comments are closed.