काठमाडौँ- एमाले नेतृ रामकुमारी झाँक्रीले आम निर्वाचनमा हार–जितलाई राजनीतिमा स्वाभाविक प्रक्रिया भएको बताउँदै निराश नहुन आग्रह गरेकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले एक राजनीतिकर्मीका लागि आम निर्वाचन लड्नु सयौँ काममध्ये एउटा काम मात्र भएको उल्लेख गरिन्। उनका अनुसार राजनीतिमा जय र पराजय भइरहने भएकाले त्यसलाई स्वीकार गर्दै अगाडि बढ्नुपर्ने हुन्छ।
झाँक्रीले एउटा निर्वाचन हार्दैमा देश वा पार्टीले हार्नु नहुने बताउँदै निराशाको बाटो छोड्न आग्रह गरेकी छन्। उनले देशको निर्माण र वर्तमान व्यवस्था स्थापना गर्न आफूहरूकै भूमिका रहेको स्मरण गराउँदै यसको रक्षा गर्ने जिम्मेवारी पनि आफूहरूकै भएको उल्लेख गरिन्। “हामीले एउटा निर्वाचन हार्दैमा देशले हार्नु हुँदैन, हाम्रो पार्टीले हार्नु हुँदैन। निराशाको बाटो छोडौ, यो देशको निर्माण हामीले गरेको हो। यो ब्यवस्था हामीले ल्याएको हो। यो देश र ब्यवस्थाको रक्षा हामीले गर्ने हो।” उनले भनिन् ।
उनले अगाडि थप चुनौती र अवसर दुवै रहेको उल्लेख गर्दै ती सबैको सामना गर्न सबै राजनीतिक शक्ति तयार हुनुपर्ने बताएकी छन्।







