‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ ललितपुरमा हुँदै

काठमाडौं — प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली नेपालमा गुञ्जिने भएका छन् । चैत्र २ गते ललितपुरको पुल्चोकमा हुने ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा उनले प्रस्तुति दिने तय भएको छ ।
आयोजक साधना कला केन्द्रले पत्रकार सम्मेलन गर्दै अलीको नेपाल प्रस्तुतिबारे जानकारी दिएको हो । उनले ३ घण्टा आफ्ना लोकप्रिय गजल र गायकीमा दर्शकलाई मन्त्रमुग्ध तुल्याउनेछन् ।
साधना कला केन्द्रका मिलन मोक्तानले गजलकार अलीको मागअनुसार नै नेपालमा कार्यक्रम गर्न लागिएको बताए । अहिलेलाई शोको लागि सीमित संख्यामा मात्र टिकट उपलब्ध हुने उनले जनाए ।
कार्यक्रममा सहभागि हुन अलीसहित ११ सदस्यीय सांगीतिक टोली २९ फागुनमा काठमाडौं आउनेछ । पहिलोपटक अलीले नेपालमा प्रस्तुति दिन लागेको मोक्तानले बताए । अलीसँगै उनका छोरा अमिर र नाती नाजिरलाई पनि प्रस्तुत गरिने उनले जनाए ।
उनका सबैभन्दा प्रसिद्ध गजलहरू मध्ये ‘चुपके चुपके रात दिन’, ‘हंगामा है क्यूँ बर्पा’, ‘कल चौधविन की रात थी’ र ‘ये दिल ये पागल दिल मेरा’ समावेश छन् जसलाई बलिउड फिल्महरूमा पनि फिचर्ड गरिएको छ । यसबाहेक उनले मनमोहक पञ्जाबी गीत गाएका छन् ।
उनले तत्कालिन नेपाली राजा महेन्द्रले लेखेको ‘किन किन तिम्रो तस्वीर’ पनि गाएका छन्, जुन नेपालमा निकै रुचाइएको गीतमध्ये पर्छ ।
यो गीतका संगीतकार दीपक जंगमलाई समारोहमा विशेष सम्मान प्रदान गरिने भएको छ । जंगमले अलीका ४ गीतमा शब्द रचना तथा संगीत दिएका छन् । पत्रकार सम्मेलनमा जंगमले पनि नेपाली संगीतमा ठूलो योगदान पुर्‍याएका प्रसिद्ध गलकारसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
टिकटबाट संकलित रकमको केही हिस्साबाट गायन र नृत्यमा लागिरहेका बच्चालाई १ वर्षको छात्रवृति समेत प्रदान गरिने बताए । टिकट व्यवस्थापन इसेवाले गर्नेछ । टिकट मुल्य ५ हजारदेखि दुई लाखसम्म राखिएको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

Comments are closed.