काठमाडौंमा आजदेखि ‘औषधिजन्य जडिबुटी मेला’ आयोजना

काठमाडौं : जडिबुटी प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले ‘औषधिजन्य जडिबुटी मेला’ आयोजना गरेको छ।

चिकित्सालयका प्रमुख डा.पुनम नेपालले औषधिजन्य जडिबुटीको ज्ञानलाई जानकारी दिने उद्देश्यले नेपाल प्रज्ञा-प्रतिष्ठानमा मेला आयोजना गरिएको बताइन्। मेलामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका बहुमूल्य जडिबुटी प्रदर्शनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका विभिन्न जडिबुटीबाट मिश्रित पथ्य आहार एवं खानपानको जानकारी गराइनेछ।

चिकित्सालयका प्रमुख डा. नेपालले मेलामा जडिबुटीको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवं लोपोन्मुख बहुमूल्य जडिबुटीको जानकारी, स्वास्थ्य प्रवर्धन तथा उपचारका लागि स्थानीय जडिबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिने जानकारी दिइन्। यसैगरी प्राविधिक सत्रमा सम्बन्धित विषयविज्ञद्वारा औषधिजन्य जडिबुटी र पोषण, जलवायु परिवर्तन, पर्यावरणीय स्वास्थ्य, जडिबुटीको दिगो संरक्षणसम्बन्धी वैज्ञानिक सत्र पनि राखिएको छ।

मेलामा औषधिजन्य जडिबुटीको व्यावसायिकखेती, वैज्ञानिक पद्धतिबाट संकलन, दिगो संरक्षणमा प्रयास एवं किसानबाट उत्पादनकर्तासम्म स्थिति, सम्भाव्यता र चुनौतीका बारेमा पनि छलफल हुनेछ। मेलाबाट औषधिको प्रयोग भए पनि लोपोन्मुख रहेका जडिबुटीको संरक्षण गर्न सहयोग मिल्नेछ। चिकित्सालयका प्रमुख डा. नेपालले नेपालमा करिब पाँच हजार ६०० जडिबुटीबाट औषधि उत्पादन हुने गरेका अध्ययनले देखाएको बताइन्।

Comments are closed.