हाइकन सम्मेलन: स्वास्थ्य एआइको उपभोक्ताबाट आफैँ उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन
काठमाडौं । नेपालजस्ता स्रोतको कमी भएका देशमा स्वास्थ्य एआइको क्षेत्रमा वैज्ञानिक ज्ञान प्रविधि र नवप्रवद्धर्धन गर्ने प्रतिबद्धता जाहेर गर्दै हाइकन सम्मेलन बुधबार सम्पन्न भएको छ।
यस्ता देशहरुलाई स्वास्थ्य एआइको ज्ञान र प्रविधिको उपभोक्ताबाट आफैँ उत्पादक बनाउने घोषणा गर्दै हाइकन सम्मेलन सम्पन्न भएको हो।
नेपाल र नेपालजस्ता विकासशील देशहरुमा स्वास्थ्य एआइको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्नका लागि स्थापना भएको हेल्थ एआइ फर अल नेटवर्कले (हाइनेट) गत मंगलबारबाट कन्फ्रेन्सको आयोजना गरेको थियो।
कन्फ्रेन्समा विकासशील देशहरुले स्वास्थ्य सेवाको समस्या पहिचान गरि त्यसलाई स्वास्थ्य एआइको माध्यमबाट समाधान गर्ने विषयमा छलफल भएको थियो।
नेपालको अग्रसरतामा स्वास्थ्य क्षेत्रमा भएको एआइ प्रविधि विकासको फाइदा सिमित स्रोत र साधन भएका देशमा बसोबास गर्ने मानिसहरुमा पनि पुगोस् भन्ने अभिप्रायले सन् २०२४ को अन्त्यतीर हाइनेट सुरु भएको थियो । हाइनेटले पहिलो कन्फ्रेन्स काठमाडौँमा आयोजना गरेको हो।
कन्फ्रेन्समा स्वास्थ्य सेवा वितरणमा महत्वपूर्ण परिवर्तन ल्याउन, मानव स्वास्थ्य सुधार गर्न र स्वास्थ्यमा सबैको पहुँच पुराउन स्वास्थ्य एआइले कसरी भुमिका खेल्छ भन्ने विषयमा छलफल भयो। त्यसैगरि, कन्फ्रेन्समा विकासउन्मुख देशहरू स्वास्थ्य एआई प्रविधिको उपभोक्ता मात्र नभइ उत्पादक पनि कसरी हुने भन्ने विषयमा बृहत छलफल भएको थियो।
कन्फ्रेन्समा स्वास्थ्य एआइलाई विश्वव्यापी सार्वजानिक पुजीका रुपमा कसरी विकास गर्न सकिन्छ, स्वास्थ्य एआइको वर्तमान अवस्था कस्तो रहेको छ र नेपाल र नेपालजस्तो देशहरुको स्वास्थ्य सेवामा यसले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा विज्ञहरुले छलफल गरेका थिए।
त्यस्तै, स्वास्थ्य एआइको प्रयोग र फाइदाबाट कोहीपनि व्याक्ती वञ्चित नहुनको लागि के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो। सम्मेलनमा विभिन्न देशका विज्ञहरुले स्वास्थ्य एआइलाई स्वास्थ्य प्रणालीमा कसरी संग्लग्न गर्न सकिन्छ, कस्ता नीतिगत व्यवस्था गर्नुपर्छ र यसको सम्भावना, चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
कन्फ्रेन्समा स्वास्थ्य तथा जनसङख्या मन्त्रालय र नेपाल एप्लाइड म्याथम्याट्रिक्स एण्ड एन्फोम्याट्रिक्स (नामी) को सहआयोजना रहेको थियो। यो सम्मेलन अर्को वर्ष युगाण्डामा हुनेछ।