म्युजिक भिडियो निर्देशक समाजद्वारा नगद राशी सहित सङ्गीतकार शम्भुजीत सम्मानित

काठमाडौं । नेपाल म्युजिक भिडियो निर्देशक समाजको दोस्रो वार्षिक उत्सव, साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रम राजधानीमा रहेको राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरेका थिए ।

कार्यक्रममा म्यूजिक भिडियोको स्तरलाई एउटा उचाइमा पुर्याउन सफल म्यूजिक भिडियो निर्देशकद्वय स्व. आलोक नेम्वाङ र स्व. सुरज श्रेष्ठको स्मृतिमा प्रथम आलोक-सुरज स्मृति पुरस्कार स्वरूप नगद राशी रू ११,१११/ (अक्षरेपि एघार हजार एक सय एघार) सहित प्रतिष्ठित सङ्गीतरत्न शम्भुजीत बासकोटालाई सम्मानित गरिएको थियो। नेपाली म्यूजिक भिडियोको इतिहासमा पहिलो भिडियो निर्माण र निर्देशन गरेर दक्षिण एशियामै उचाईमा पुराउन योगदान गरे वापत बासकोटालाई सम्मानित गरिएको हो । पहिलो निर्देशक बाँस्कोटाले निर्देशन गरेको म्यूजिक भिडियोमा अभिनेता भुवन केसीले अभिनय गरेका थिए । बासकोटाले २०४५ सालमा नगरकोटमा छायाँकन गरेर नेपालको पहिलो म्युजिक भिडियोको औपचारिक छायाँकन गरेका थिए ।

कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायक प्रेमराजा महत, वरिष्ठ भिडियो सम्पादक प्रकाश तुलाधर, वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ छायाँकार तथा कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी निर्माता धिरज जङ्ग शाह, पहिलो महिला भिडियो निर्देशक, सञ्चारकर्मी तथा समाजसेवी अनुपा श्रेष्ठ र वरिष्ठ भिडियो निर्देशक शङ्कर बिसीलाई विशेष सम्मान गरिएको थियो।

यसरीनै गायक यस कुमार, गीतकार प्रकाश सुवेदी, गायिका प्राश्ना शाक्य, गीतकार अम्बिका गरुङ, गीतकार तथा चलचित्र निर्देशक सत्यराज चौलागाईँ, नायिका सुशिला थापा, लोकगायक राम्जी खाँड , इन्टरटेनर दुर्गेश थापा , नेपाली हाँस्यव्ङ्ग्य जगतमा पछिल्लो समयमा अौधि रुचाइएका कलाकार सागर लम्साल (बले) अभिनेता तेज गिरी , गायक सञ्जिव सिंह राना , गायक ओम सुनुवार , समाजसेवी दिपेश श्रेष्ठ, पत्रकार बिजयरत्न तुलाधर,पत्रकार ऋषि थपलिया हाँस्य कलाकार कृष्ण जोशी, गायक दिपेश श्रेष्ठ, नित्यङ्गना एजिबिबा पुर्जा पुन लगाएत विभिन्न सर्जक तथा विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको सो समारोहमा भिडियो निर्देशक तथा प्रतिनिधि सभा सदस्य असिम शाहलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वरिष्ठ सङ्गीतकार शम्भुजीत बासकोटा र बरिष्ठ लोकगायक प्रेमराजा महतको प्रशंसा गर्दै डण्डीबियोको दृष्टान्त दिएका थिए । मन्त्री किरातीले आफूलाई डण्डीबियो खेलको बियो र उनिहरुलाई डण्डीसँग तुलना गरे । मन्त्री किरातीले सङ्गीतको हाइड्रोजन र अक्सिजनको उत्पादन गरेर पानी बनाउन सक्ने क्षमता भएको भन्दै बासकोटाको प्रशंशा गरेका थिए । गायक एसकुमार, जूनू रिजाल, प्राश्ना शाक्य आनन्द कार्की, दुर्गेश थापा लगाएत गायक गायिकाहरुको साङ्गीतिक प्रस्तुति र ५ वर्षका जुम्ल्याहा दाजुभाइ जेविस र जेनिसको नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो।

अतिथिहरु समाजसेवी तथा गायक विकास राणा, चर्चित गायिका देविका बन्दना कार्यक्रमका सल्लाहकार राजेन्द्र पुरी सहित प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न सो कार्यक्रमको संयोजन संस्थाका कोषाध्यक्ष बबिता श्रेष्ठ, सञ्चालन चर्चित सञ्चारकर्मी नरेश भट्टराई र स्वागत मन्तव्य संस्थाका महासचिव सुव्रत आचार्यले गरेका थिए।

म्युजिक भिडियो निर्देशक समाजका उपाध्यक्ष निशान घिमिरे, अतिथिहरुलाई स्वागत गरेको सो समारोहलाई सचिव प्रकाश धिताल, सहसचिव समन अधिकारी सह कोषाध्यक्ष डि .आर सुजनसहितको कार्यसमिति टिमले सफलतापूर्वक सम्पन्न सम्पन्न गरेको हो ।

Comments are closed.