उपभोक्ता ठगिने काम भए तत्काल पदबाट राजीनामा दिन्छु: उद्योगमन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनैपनि काम आफूबाट हुनै नसक्ने बताएका छन् ।

सोमवार संघीय संसद प्रतिनिधि सभा अन्तगतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आफूले उपभोक्ताको नाममा बदमासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने समेत बताएका हुन् ।

मन्त्री रिजालले चाडपर्वका बेलामा पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै आगामी दिनमा त्यसमा सुधार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले कालो बजारी गर्नेहरूलाई सोही अनुसारको दण्डसजायको व्यवस्था गर्न कानुनकै अभाव रहेको गुनासो समेत गरे । मन्त्री रिजालले उपभोक्ताहरूमाथि ठगी गर्नेहरूलाई गरिएको दण्डसजाय असुली गर्न सरकारसँग कुनै मेकानिजमनै नभएको पनि पटकपटक बताए ।

मन्त्री रिजालले भने ‘मैले कुनै दिन गल्ती गरे भने तुरुन्तै राजीनामा दिएर बाहिर जान्छु भन्ने म विश्वास तपाईँहरूलाई दिलाउन चाहन्छु । मलाई न त्यो जरुरत छ । न म बाट कमिसन खाने काम हुन्छ भनेर म विश्वास दिलाउन चाहन्छु । कानुनी सजाय दिने अधिकार हामीसँग धेरै छैन । कानुनहरूमा पनि परिमार्जन गर्नुपर्ने जरुरत हामीले देखेका छौँ । अव त्यो बिस्तारै हुँदै जाला । अव ठूल्ठूला बद्मासहरुले ठूल्ठूला अपराधहरू गरिरहेका हुन्छन् । तर ३ लाख भन्दा बढी सजाय गर्न सकिँदैन । सजाय गरिएको पैसा असुली गर्न पनि हामीलाई कानुनको अभाव छ । उसले आएर दियो भने त ठिकै हो । तर दिएन भने उठाउनका लागि कुनै मेकानिज्म पनि बनिसकेको छैन । ’

बैठकमा बोल्दै सत्तारुढ दलका सांसदहरूले नै चाडपर्वलाई ध्यानमा राखेर सरकारले आम उपभोक्तामा हित हुनेगरी आवश्यक व्यवस्था मिलाउन नसकेको गुनासो गरेका थिए ।

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले चिनी जस्ता चाडपर्वमा अतिआवश्यक बस्तुको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना गरे ।

उनले साल्ट ट्रेडिङ र खाद्य संस्थानले आफ्नो काम गर्न नसकेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने अवस्था आएको पनि बताए ।

सांसद केसीले भने ‘यदि बजारलाई हस्तक्षेप गर्ने हो भने चाडपर्व आउँछ भन्ने पनि थाहा छ । बढी चिनी तिहारमा चाहिन्छ भन्ने पनि थाहा छ । मन्त्रीज्यू आउनु भएको पनि ३÷४ महिना भयो । के हुँदैछ यो नेपालमा रु सबै कुरा थाहा छ । तर हामीले निर्णय गरेका छैनौँ । यो विषय गम्भीर विषय हो ।’

नेपाली काँग्रेसकै अर्का सांसद अर्जुननरसिंह केसीले चाडपर्वका बेला बजार अनुगमन गरेपनि सरकारले जनताको चाहना अनुसार सस्तो मूल्यका वस्तुहरूको उपलब्धता गराउन नसकेको बताए । उनले मूल्यवृद्धि निरन्तरको प्रक्रिया जस्तो बन्दा पनि त्यसलाई नियन्त्रण गर्न सरकार लागि नपरेका गुनासो गरे ।

सांसद केसीले भने ‘यो बजार अनुगमन समिति बन्छ हामीहरूको । त्यसले अनुगमन गर्छ । तर त्यसको परिणाम के हो भन्दा जुन जनताले चाहेको परिणाम हो । त्यो चाहिँ हुन सकेको छैन । पेट्रोलियम पदार्थको भाउ केही घटाइएको छ । तर त्यो तुरुन्तै बढ्छ । यो मूल्यवृद्धिको निरन्तरको प्रक्रियालाई नियन्त्रण गर्न नसक्दा मुलुकमा वित्तीय अराजकता नै आइसकेको छ । यसलाई सरकारले नियन्त्रण गर्नुपर्दैन ?’

सांसद केसीले मुलुकमा वित्तीय अराजकताको सुरुवात भइरहेकोतर्फ पनि सरकारलाई सचेत गराए ।

Comments are closed.