काठमाडौं – अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्दा अनावश्यक थप कागजात तथा बिलररसिद पेस गर्न नपर्ने स्पष्ट पारेको छ ।शुक्रबार सार्वजनिक सूचना जारी गर्दै विभागले वैदेशिक रोजगार विभागको अघिल्लो सूचनापछि देखिएको अन्योलप्रति ध्यानाकर्षण भएको जनाएको हो । श्रमिकसँग विमानस्थलस्थित अध्यागमन कार्यालयमा अतिरिक्त कागजात मागिएको भन्ने विषय सार्वजनिक भएपछि विभागले यस्तो स्पष्टोक्ति दिएको हो ।
अध्यागमन विभागले वैदेशिक रोजगार विभागबाट चैत २३ गते जारी सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै प्रचलित अध्यागमन कानुनअनुसार प्रक्रिया स्पष्ट गरेको हो ।विभागका अनुसार नेपाल सरकार, २०८२ कात्तिक १३ गतेको गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णय तथा प्रचलित अध्यागमन कानुनबमोजिम वैध भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि कम्तीमा ६ महिना म्याद भएको राहदानी, गन्तव्य मुलुकको हवाई टिकट र सम्बन्धित देशको भिसा भए पुग्ने व्यवस्था छ ।
त्यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा वैदेशिक रोजगार विभागबाट जारी गरिएको श्रम स्वीकृति र राहदानीजस्ता न्यूनतम आवश्यक कागजात पर्याप्त हुने विभागले जनाएको छ । यसबाहेक अध्यागमन कार्यालयमा थप कागजात वा बिलररसिद पेस गर्न नपर्ने स्पष्ट पारिएको छ ।विभागले अनावश्यक कागजात माग्ने वा सेवाग्राहीलाई झन्झट हुने अवस्था सिर्जना नगर्न सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ ।’विदेश यात्रा गर्ने नेपाली नागरिक कुनै पनि किसिमको भ्रममा नपरी आफ्नो गन्तव्य मुलुक र यात्राको बारेमा पूर्ण रूपमा सुसूचित भई निर्धक्क यात्रा गर्न सक्नेछन्,’ विभागले भनेको छ।








Discussion about this post