राजधानीमा साहित्य चौतारीले राष्ट्रकविको सम्झना गर्यो

महाकाली घिमिरेलाई सम्मान गरियो

साहित्य चौतारी झापाले आज अग्रज शिखर सर्जक राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा लैनचौरस्थित कवि कुन्जमा एक विशेष कार्यक्रमको आयोजना गरेर कालजयी गीतका सर्जक घिमिरेप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्‍यो । सोही कार्यक्रममा श्रीमती महाकाली घिमिरेलाई सम्मान पनि गर्‍यो ।
सो सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति कलाकार नारदमणि हार्तम्छाली, विशिष्ट अतिथिहरु साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, दार्जिलिङका सर्जक जीवन अधिकारी, साहित्य चौतारीका अध्यक्ष/संरक्षक देवीभक्त श्रेष्ठले प्रदान गर्नु भएको थियो ।

साथै माता गौरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको सो कार्यक्रममा आमा महाकालीको सम्मानमा राष्ट्रकविका छोराहरु एवं परिवारजनको साथ सहयोग रहेको थियो । सर्जकहरुले राष्ट्रकविको सङ्ग्रहालयको अवलोकन पनि गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि राधेश्याम लेकालीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको बारे प्रकाश पार्दै संस्मरणहरु सुनाउनु भयो । साथै उहाँले राष्ट्रकवि घिमिरे स्काउट रहनु भएको चर्चा गर्दै देशको विषम परिस्थितिको बेला राष्ट्रियता जगाउने सिर्जना गर्नु भएको चर्चा गर्नु भयो ।कार्यक्रममा राष्ट्रकविले सिर्जना गर्नु भएका कालजयी गीतहरु – “नेपाली हामी रहुँला कहाँ नेपालै नरहे”, “फूलको थुँगा बहेर गयो गंगाको पानीमा”,”गाउँछ गीत नेपाली”, “आज र राती के देखें सपना” गीतहरु गायकहरु जीवन अधिकारी, लोचन भट्टराई, लाक्पा शेर्पा, प्रदीप देवान, समीर खरेल धना राई लगायत गाउनु भएको थियो ।संचारिका समूहकी अध्यक्ष कवि विमला तुम्खेवाले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा कार्यक्रमको उदेश्य र महत्व माथि प्रकाश पार्दै अध्यक्ष/संरक्षक देवीभक्त श्रेष्ठले संस्थाको उद्दाटन राष्ट्रकवि घिमिरेले २०५६ सालमा गर्नु भएको बताउनु भयो । साथै उहाँले कवि कुन्ज संग्रहालयको थप व्यवस्थापनमा साहित्य चौतारीको चासो व्यक्त गर्नु भयो । उहाँले संग्रहालयको उचित व्यवस्थापन गर्न प्रतिष्ठान र नेपाल सरकारको ध्यानाकर्षण पनि गराउनु भयो ।राष्ट्रकविको घरलाई कवि कुञ्ज र बाटोलाई कवि मार्ग नामाकरण गर्न पनि आग्रह गरिएको थियो ।यसैगरी कार्यक्रमका प्रमुख अतिथि कुलपति हार्तम्छालीले साहित्य चौतारीको योगदानको चर्चा गर्दै नेपाली कला, साहित्य र संस्कृतिको उन्नयन र विकासको लागि प्रज्ञा प्रतिष्ठानहरुले पुर्‍याएको योगदानबारे उल्लेख गर्नु भयो । साथै नेपाली साहित्यमा राष्ट्रकवि घिमिरेको योगदानको पनि चर्चा गर्नु भयो ।

 

Comments are closed.