सुडान द्वन्द्वमा कम्तीमा १८५ जनाको मृत्यु, १८०० बढी घाइते

काठमाडौं । सुडानमा प्रतिद्वन्द्वी गुटहरूबीचको लडाइँमा तेस्रो दिनमा पुग्दा कम्तीमा १८५ जनाको मृत्यु भएको छ । अन्य १८०० बढी घाइते भएको सुडानका लागि संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधिले बताएका छन् ।

विश्वका सात ठूलो अर्थतन्त्रहरूको समूह जी७ ले तत्काल द्वन्द्व रोक्न आग्रह गरेको छ ।

लडाँइ गरिरहेका दुवै पक्षले घना जनसंख्या भएको क्षेत्रमा ट्याङ्क, तोप र अन्य भारी हतियार प्रयोग गरिरहेका छन् । लडाकु विमान र एन्टिएयरक्राफ्ट प्रणालीसमेत प्रयोग भइरहेको छ ।

सुडानका लागि राष्ट्र संघीय विशेष दूत भोल्कर पर्थेसले स्थिति धेरै जटिल रहेको बताउँदै शक्ति कुन पक्षतर्फ सिफ्ट भइरहेको छ भनेर भन्न नसकिने बताएका छन् ।

भिडियोमार्फत न्यूयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै पर्थेसले युद्धरत पक्षहरूले शान्तिका लागि मध्यस्थता आवश्यक भएको संकेत नगरेको बताएका छन् ।

Comments are closed.