भारतीय फिल्म चल्न दिन्न बरु जुनसुकै सजाय भोग्न तयार– मेयर शाह

काठमाडौँ / काठमाडौँ महानगरपालीकाका मेयर बालेन्द्र शाह (बालेन) ले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन् ।

मेयर शाहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस पोस्ट गर्दै देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफुले कुनै कानुन र अदालतलाई नमान्ने बताएका हुन् ।

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’ मेयर शाहले आफ्नो फेसबुकमा लेखेको छन् ।

उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । मेयर शाहले काठमाडौँको फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् ।

विवादित फिल्म आदिपुरुषको आपत्तिजनक संवाद नसच्याएपछि शाहले काठमाडौँ महानगरभित्र हिन्दी फिल्म सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए । सो निर्णयविरुद्ध उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै शाहले यस्तो अभिव्यक्ति दिएका हुन् ।

अदालतले आदेश दिएको केहीबेरमा नै सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले भारतीय फिल्मको प्रदर्शन हुन नदिने बरु जुनसुकै सजाय भोग्न तयार हुने बताएका छन् । उनले अदालत र नेपाल सरकार नै भारतको गुलाम भएको आरोपसमेत लगाएका छन् ।

बालेनले लेखेका छन्– ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ,’ उनले भने, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’

भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । बालेनको उक्त निर्णयविरुद्ध चलचित्र संघ अदालत गएको थियो ।

Comments are closed.