कांग्रेस-एमाले मिलेर सरकार बनाउनु स्वागतयोग्य: राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा स्वागतयोग्य भएको बताएको छ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार बसेको पदाधिकारी बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य रहेको बताए।
‘अहिले कांग्रेस र एमालेले नयाँ सहमति बनाएको समाचार बाहिर आइराखेको छ। त्यो सहमतिको मुख्य बुँदा भनेको संविधान संशोधन हो। संविधान संशोधन गर्न पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने भन्ने कुरा आयो, त्यसलाई हामीले प्रारम्भिक रूपमा स्वागतयोग्य विषय मानेका छौं।’
अहिलेको संविधानले काम गर्दैन भनेर राप्रपाले पहिलेदेखि नै भन्दै आएको पनि लिङ्देनले बताए।
‘यही संविधानबाट अघि जान सकिन्न भन्नेमा मुख्य दलहरू सहमत देखिएको छ,’ लिङ्देनले भने, ‘संविधान के-केमा संशोधन गर्ने, यसका प्रक्रिया के हुन्छन्, यसले कस्तो स्वरूप लिन्छ, समय थुप्रै छ। यसलाई हामीले होसियारीपूर्वक हेर्ने र आफ्ना धारणा बनाउने कुरा छ।’
संविधान संशोधनको प्रक्रिया कसरी अघि बढ्छ भन्नेबारे दलहरूसँग संवाद गरिसकेपछि थप धारणा बनाउने पनि उनले बताए। प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्।
राप्रपा अध्यक्ष लिङ्देनले मंगलबार नै कांग्रेससहित दलहरूसँग संवाद गरिने बताए। ‘दलहरूसँग औपचारिक र अनौपचारिक संवादमा हामी रहन्छौं,’ उनले भने।
कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाएर सरकार बनाउने र संविधान संशोधनलगायत विषय अघि बढाउने गएको मध्यरातमा सहमति भएको थियो।मंगलबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राप्रपालगायत विपक्षमा रहँदा साथ दिँदै आएका दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय गरेको थियो।यसअघि राप्रपाले कांग्रेस नेतृत्वमा रहेको गण्डकी सरकारलाई समर्थन गरेको थियो।

Comments are closed.