काठमाडौँ, २७, फागुन, २०७८
सुर्खेत — ‘कुडा कर्णालीका’ नारा दिइएको कर्णाली उत्सवको तेस्रो संस्करण वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा शुक्रबारदेखि सुरु हुँदै छ । कर्णालीको पहिचान र सम्भावनालाई उजागर गरी ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय महत्त्वलाई राष्ट्रिय रूपमा परिचित गराउन उत्सव आयोजना गरिएको संयोजक कमलराज लम्सालले बताए ।
आयोजक ऋति फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलन गरी उत्सवमा विभिन्न विषयका दर्जन सेसन सञ्चालन गरिने जानकारी दिएको छ । उत्सवको सुरुमा प्रज्ञा प्रतिष्ठानका प्रा. दिनेशराज पन्तले ‘खस भाषाको लहरो’ विषयमा विद्वत प्रवचन दिनेछन् । ‘विकासका लागि विचार’ विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही बोल्नेछन् । उत्सवमा ‘उत्सवको उत्साह’, ‘पौकलो’, ‘कर्णाली भेरीको सुसेल्दो छ’ र ‘बजार विकास, हजार निकास’ सत्र पहिलो दिनमा सञ्चालन हुनेछ । उत्सवलाई कर्णालीलाई चिन्ने र चिनाउने अभियानका रूपमा लिइएको आयोजक समूहका सदस्य केवलप्रसाद भण्डारीले बताए ।
उत्सवको दोस्रो दिन ५ वटा सत्र सञ्चालन हुनेछन् । ‘झरो–उज्यालोको खरो’ मा गजेन्द्र महत, कुलमान घिसिङ र निशा रानाले बहस गर्नेछन्, जसको सहजीकरण महेश नेपालीले गर्ने भएका छन् । ‘लगानीमा लगाम’ मा चन्द्र ढकाल, चण्डीराज ढकाल, निरक केसी र तारा शाहीले बहस गर्ने आयोजकले जनाएको छ । त्यस्तै ‘आरन, अन्वेषण र आविष्कार’ मा महावीर पुन, डीबी नेपाली, सहवीर कामी, कविता पाण्डे रहनेछन् । यस्तै ‘कर्णाली भेरी तिरैतिर, भविष्यको पीर’ सत्रमा सृजु शर्मा, राधा वाग्ले, युवराज कार्की र डा. सुदीप ठकुरीले बहस गर्नेछन् भने ‘रैवार, रैवार’ मा वैकुण्ठ अर्याल, युवराज घिमिरे, टीकाराम यात्री र दीपा कोइरालाको बहस हुनेछ ।
तेस्रो दिनको सत्रमा ‘शून्य समय’ मा कर्णाली प्रदेशसभाका सदस्य देवी वली, सीता नेपाली र प्रदेशसभा सचिव जीवराज बुढाथोकीको छलफल राखिएको छ भने ‘वादविवाद र संवाद’ मा गगन थापा र रामकुमारी झाँक्रीले बहस गर्नेछन् । ‘उमेरको उमंग’ मा विद्यार्थी नेतृहरू पञ्चा सिंह, पुनम भट्ट, सुनिता बराल, आरती लामा र प्रकृति भट्टराईबीच संवाद हुनेछ भने ‘विकासको बाटो’ मा मधु मरासिनी, कर्णाली प्रदेशका आर्थिक तथा योजनामन्त्री बिन्दमान विष्ट र डा. विमला राई पौडेलले बहस गर्नेछन् । उत्सवको अन्तिम सत्रमा कर्णाली चिन्तनबारे डा. विश्व पौडेलको प्रवचन समावेश गरिएको छ ।
Comments are closed.