मण्डलामा असार पहिलो सातादेखि ‘कोराघाट’ र ‘हिउँभन्दा चिसो’ मञ्चन हुने

काठमाडाैँ । थापागाउँ नयाँ बानेश्वरस्थित मण्डला थिएटरमा आगामी असार पहिलो सातादेखि एकै पटक दुई नाटक प्रदर्शनमा आउने भएका छन् । मण्डलाको स्टुडियो थिएटरमा असार सात गतेदेखि नाटक ‘कोराघाट’ र ठुलो प्रेक्षालय (मुख्य मण्डला थिएटर) मा असार ८ गतेदेखि नाटक ‘हिउँभन्दा चिसो’को नियमित प्रदर्शन हुने भएको हो ।

मण्डला थिएटर नेपालले नियमित रूपमा गर्दै आएको अभिनय प्रशिक्षण कार्यक्रम थिएटर ल्याबको एघारौँ ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको नाटक कोराघाटलाई वरिष्ठ रङ्गकर्मी तथा चलचित्र अभिनेता कमलमणि नेपालले निर्देशन गर्दैछन् । कुमार नगरकोटीको कथा ‘कोराघाटका क्रियापुत्रीहरू’मा आधारित नाटक असारको २१ गतेसम्म हरेक साँझ ४ बजे मञ्चन गरिनेछ । तीन महिनासम्म अभिनयको आधारभूत प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुले सिकेका कुरालाई मञ्चमा देखाउने अवसरका रूपमा कोराघाटको मञ्चन राखिएको हो ।
त्यसैगरी, मण्डला थिएटरमा मञ्चन हुने नाटक ‘हिउँभन्दा चिसो’लाई साइकोलोजिकल थ्रिलर विधाको रहेको छ । हाललाई कथावस्तु र परिवेश नखुलाइएको नाटक हिउँभन्दा चिसोमार्फत पुराना रङ्गकर्मी तथा चलचित्र कलाकार भोलाराज सापकोटालाई फेरि एकपटक मञ्चमा देख्न पाइने भएको छ । बलिउड चलचित्र बर्फीमा रणवीर कपुरसँग स्क्रिन सेयर गरेर चर्चा कमाएका सापकोटाले त्यसयता थुप्रै नेपाली चलचित्रहरूमा काम गरेतापनि ६ वर्षअघि विमल सुवेदीद्वारा निर्देशित ‘हेम्लेट’ पछि कुनै नाटकमा अभिनय गरेका थिएनन् । लामो समयपछि नाटक खेल्ने अफर आएको, स्क्रिप्ट मन परेको र समय पनि अनुकूल भएका कारण हिउँभन्दा चिसोमा अभिनय गर्न लागेको र यसले आफूलाई उत्साहित बनाएको सापकोटाले बताएका छन् । उनका अलावा कलाकारद्वय रेणु योगी र गोविन्द सुनारको अभिनय देख्न पाइने नाटकलाई सोमनाथ खनालले निर्देशन गर्दै छन् । रेणु योगी गएको वर्ष प्रदर्शन भएको फिल्म ‘प्रकाश’ की कलाकार हुन् । खनालको निर्देशनमा यसअघि ‘रमाइलो’, ‘इदमित्थम’ र ‘तीन ट्रान्जिट’ जस्ता नाटकहरूलाई मण्डला थिएटरले देखाइसकेको छ
१२ वर्षसम्म काठमाडौँको अनामनगरमा नाटकघर चलाएको मण्डला थिएटरले गत वर्षदेखि थापागाउँमा सुविधासम्पन्न दुईवटा नाटकघर सहितको, क्याफे, रेष्टुरेन्ट र आर्टिस्ट रेसिडेन्सी सञ्चालन गर्दै आएको छ । गत वर्षको मङ्सिरमा सम्पन्न दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवका दौरान दुवै नाटकघरमा नाटक मञ्चन गरिएतापनि यसरी नियमित रूपमा आफ्नै प्रोडक्सनलाई भने पहिलोपटक मञ्चन गर्न लागिएको मण्डलाकी अध्यक्ष सृजना सुब्बाले बताइन् । पछिल्लो समय रङ्गमञ्चप्रति दर्शकहरूको बढ्दो आकर्षण र नयाँ स्थानमा पाएको अवसर सदुपयोग गर्नका लागि पनि यसरी आफ्नै प्रोडक्सनमा दुई नाटक सँगै प्रदर्शन गर्न लागिएको उनको भनाइ छ ।
‘दर्शक बाँडिने चुनौती हुँदैन?’

उनी भन्छिन् ‘दर्शक बाँडिने चुनौती पनि होला, तर एकै स्थानमा फरक स्वादका दुई नाटक हेर्ने अवसर पनि यसले दिन्छ ।

 

Comments are closed.