कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्वारा त्रयकवि विष्णुविभु घिमिरे, गीता त्रिपाठी र सगुन सुसारा पुरस्कृत

 

विराटनगर, ३०, फागुन, कृष्णभूषण बल स्मृति प्रतिष्ठान, विराटनगरले कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरे, साहित्यकार डा. गीता त्रिपाठी र कवि सगुन सुसारालाई एक समारोहका बीच नगद राशि तथा प्रमाणपत्रसहित पुरस्कृत गरेको छ ।

 

प्रतिष्ठानले ‘कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार २०७७’ लामो समयदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि डा. विष्णुविभु घिमिरेलाई दोसल्ला, नगद २५ हजार रुपैयाँ र सम्मानपत्र अर्पण गरेको थियो ।

 

यस अघि यो पुरस्कारबाट साहित्यकारहरू जसराज किराँती, श्यामल, मन्जु काँचुली, बम देवान, नारायण तिवारी, गणेश रसिक र भागिरथी श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।

 

 

यसै गरी नेपाली कविता, समालोचना विधामा दिएका योगदानका लागि ‘कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान २०७७’ कवि तथा समालोचक डा. गीता त्रिपाठीलाई नगद पन्द्रह हजार रुपैयाँ र सम्मानपत्र सहित अर्पण गरिएको थियो । यस्तै कविता विधामा दिएका योगदानका लागि ‘कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार २०७७’ कवि सगुन सुसारालाई नगद एघार हजार रुपैयाँ र सम्मान पत्र सहित अर्पण गरिएको थियो ।

 

तीनैजना कविहरूलाई वरिष्ठ कवि जसराज किराँती, प्रतिष्ठानका अध्यक्ष प्रा.डा. टंक न्यौपाने, प्रमुख संरक्षक शोभा लामा बल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, डा. गोपाल भण्डारी, विराटनगर–१० वडाध्यक्ष माधव वाग्लेलगायतले दोसल्ला ओढाएर नगद राशि र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

 

आयोजक संस्थाका महासचिव प्राज्ञ विवश पोखरेलले वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा हरेक वर्ष साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टाहरूलाई संस्थाले पुरस्कृत गर्दै आएको बताउनुभयो । सोही अवसरमा कवि कृष्ण बराल, मुनाराज शेर्मा, राधिका गुरागाईं, देवान किराँती, मञ्जुश्री गिरी, भरत गुरागाईं, सविता गौतम दाहाल, मीनकुमार नवोदित, राज माङ्लाक र दीपा दाहालले कृष्णभूषण बलले लेख्नु भएका कविता वाचन गर्नुभएको थियो ।

 

 

Comments are closed.