नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौँ, डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ’ : प्रधानमन्त्री केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग सञ्चालनबाटै रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित विषयमा बुधबार भएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उद्योगका लागि पूर्वाधार निर्माणका धेरै काम भएकाले अब औद्योगीकरण तर्फ लाग्नु पर्ने बताउनुभयो । उद्योगका लागि सडक बाटो, बिजुलीलगायतका पूर्वाधारका वातावरण बन्दै गएका उहाँले जानकारी दिनुभयो ।

ओलीले साना साना लगानीमा कृषिमा आधुनिकीकरण गर्ने र स्टार्टअप उद्योगहरू खोलेर रोजगारी दिन सकिने बताउनुभयो । स्वदेशमा उत्पादन बढाएर आयात विस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थानहरू घाटामा जान नहुने बताउनुभयो । ‘नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौँ, डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ’, उहाँले भन्नुभयो ।

उहाँले मद्यपान र धूम्रपानसँग सम्बन्धित उद्योगलाई भन्दा रोजगारी सृजना गर्ने र समाजलाई सभ्य तथा स्वास्थ्य बनाउने खालका उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । उद्योगका नाममा भएका बेथिति रोक्न र राम्रा काम गर्नेलाई संरक्षण गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

छलफलमा उद्योग मन्त्री दामोदर भण्डारी, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित सहभागी हुनुहुन्थ्यो । छलफलमा प्रधानमन्त्री ओलीले खनिज र पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन कार्यलाई निरन्तरता दिँदै यसका आधारमा विकास गर्न सकिने उद्योगको योजना ल्याउन आग्रह गर्नुभयो ।

Comments are closed.