हिरासतमा पुस्तकालय

काठमाडौं । नेपाल प्रहरीले मुद्धा चल्ने प्रहरी कार्यालयहरूमा हिरासतमा पुस्तकालयु अभियान सञ्चालनमा ल्याएको छ ।नेपाल प्रहरी कार्ययोजना, २०८० अन्तर्गत नवप्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरूप फौजदारी कसुरको अनुसन्धान गर्ने प्रत्येक प्रहरी कार्यालयहरूले हिरासत पुस्तकालयको व्यवस्था गर्ने प्रावधान अनुसार अभियान सञ्चालन गरिएको हो ।विभिन्न मुद्दाको अनुसन्धान प्रक्रियाको क्रममा आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा पक्राउ परेका व्यक्तिहरूमा सकारात्मक सोचको विकास गर्ने उद्देश्य अभियानको रहेको छ ।
छोटो समयमा नै अभियान प्रभावकारी हुँदै गएको छ । हालसम्म नेपाल प्रहरीका २२१ वटा मुद्धा चल्ने कार्यालयमध्ये २०० कार्यालयमा हिरासत पुस्तकालय अभियान सुचारू गरिएको छ ।ती मध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत १९ वटा, कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३८ वटा, मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३५ वटा, बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत २३ वटा, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १५ वटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३७ वटा, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत १३ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत २० वटा छन् ।
पुस्तकालयमा विभिन्न विधाका उपन्यास, कथा, कविता, निबन्ध, धार्मिक ग्रन्थ, कानुन, सामान्यज्ञानको साथै विभिन्न व्यक्तिका जीवन संघर्ष, जेल जीवन, राजनीतिक विचार, सिद्धान्त, व्यावसायिक सीप, उत्प्रेरणा, सकारात्मक सोचका विषयमा लेखिएका पुस्तकहरू रहेका छन् ।
दैनिक जीवनमा आइपर्ने समस्या र समाधानका विषय समेटिएका पुस्तक पनि राखिएको छ । पुस्तकालयले थुनुवामा अध्ययन अभिरूचि जगाउन र अध्ययनप्रति लगाव बढाउन सहयोग पुर्याएको छ ।अध्ययनबाट आफ्नो आचरण, व्यवहार र सोचमा सकारात्मक धारणा बनाउन सहयोग पुगेको छ । यसैगरी हालसम्म ७२ वटा कारागारहरूमा समेत पुस्तकालयहरू सञ्चालनमा छन् ।ती मध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्तर्गत ३ वटा, कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १४ वटा, मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत ५ वटा, बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत १० वटा, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १० वटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १३ वटा, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत ९ वटा छन् ।हिरासत तथा कारागार पुस्तकालयबाट आफूहरूलाई निकै राम्रो भएको र पढेर नयाँ नयाँ कुरा सिक्ने मौका पाएको भनाइ थुनुवा तथा कैदीबन्दीहरूको रहेको छ ।

Comments are closed.