गुगल, मेटा र माइक्रोसफ्टलगायतका बहुराष्ट्रिय प्रविधि कम्पनीहरूको नेपालमा गर्ने कारोबार बढ्दै

काठमाडौं । गुगल, फेसबुकको मातृ कम्पनी मेटा तथा माइक्रोसफ्टलगायत बहुराष्ट्रिय प्रविधि कम्पनीको नेपालमा गर्ने कारोबार बढ्दै गएको छ ।यी कम्पनीले गत वर्षको माघसम्म १२ करोड रुपैयाँ कर तिरेकोमा यो वर्षको सोही अवधिमा १७ करोड ३१ लाख कर तिरेका हुन् । नेपालमा अहिले १३ वटा बहुराष्ट्रिय प्रविधि कम्पनी दर्ता भएका छन् ।
नेपालमा हुने कारोबारको १३ प्रतिशत उनीहरूले मूल्यअभिवृद्धि कर तिर्नुपर्छ भने दुई प्रतिशत डिजिटल सेवा कर तिर्नुपर्छ । सोही अनुसार १५ करोड मूल्यअभिवृद्धि कर र १ करोड ६१ लाख डिजिटल सेवा कर तिरेका छन् । सरकारले गत वर्षदेखि प्रविधिमार्फत विदेशबाट नेपालमा कारोबार गरिरहेकाहरूलाई कर लगाउनुका साथै कर प्रणालीमा दर्ता हुन आह्वान पनि गरेको छ । ठूला करदाता कार्यालयका प्रमुख जनकराज शर्माका अनुसार २० लाखभन्दा बढीको कारोबार गर्नेहरू कर प्रणालीमा आबद्ध हुनुपर्छ ।
गत वर्ष कर तिरेको टिकटकले यो वर्ष सरकारले प्रतिबन्ध लगाएपछि भने कर तिरेको छैन । गत वर्ष ८० करोड ३८ लाख कारोबार गरेको विवरण पेस गरेका १३ कम्पनीले यो वर्ष १ अर्ब २० करोड कारोबार गरेको विवरण ठूला करदाता कार्यालयमा पेस गरेका छन् ।

Comments are closed.