झापा--रिडर्स झापाले नेपाल र भारतका पर्यावरण वैज्ञानिकहरूको उपस्थितिमा तीनदिने ‘कला साहित्य उत्सव’ सञ्चालन गर्ने भएको छ । यही फागुन १४, १५ र १६ गते सुदूरपूर्वी सहर काँकडभिट्टामा पर्यावरण विमर्शलाई मुख्य विषय बनाएर पाँचौँ संस्करणको कला साहित्य उत्सव गर्ने भएको हो ।
उत्सवमा नेपालका वैज्ञानिक डा उत्तमबाबु श्रेष्ठ, भारतको लद्दाखका पर्यावरण संरक्षण अभियन्ता सोनम वाङचुक, भारतको कोलकाताका रैथाने धान संरक्षण अभियन्ता डा देवल देवलगायत वक्ताले पर्यावरण संरक्षण र चुनौतीका विषयमा आ–आफ्ना धारणा राख्नुहुने रिडर्स झापाका अध्यक्ष शैलेश दाहालले बताउनुभयो ।
पर्यावरणीय र जलवायु सङ्कटले निम्त्याइरहेका बाढी, पहिरो, प्रदूषण, महामारीलगायत प्राकृतिक विपद्को सामना कसरी गर्ने भन्ने विषयमा कला साहित्य उत्सवमा वैचारिक अन्तरक्रिया गरिने र सोही अवसरमा चित्रकला प्रदर्शनी, नाटक मञ्चन, कविता वाचन र प्रश्नोत्तर कार्यक्रमहरू सञ्चालन हुने आज यहाँ आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा उहाँले जानकारी दिनुभयो ।
विसं २०६५ मा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले स्थानीय युवाद्वारा स्थापना गरिएको रिडर्स झापाले विसं २०६९ देखि प्रत्येक दुई वर्षमा पूर्वको सबैभन्दा प्रसिद्ध चिन्तन मेलाका रूपमा कला साहित्य उत्सव गर्दै आएको छ । कोरोना महामारीपछि उत्सव आयोजना हुन सकेको थिएन ।
नेपाल र भारतका कलाकर्मी एवं पर्यावरण अभियन्ताहरूको जमघट रहने उत्सवमा १२ वटा छलफल सत्रमा ३० जना विज्ञको सम्भाषण हुने उत्सव आयोजक कमिटीका संयोजक सागर सिवाकोटीले बताउनुभयो ।
स्थानीय देहीआर्ट, चरा तथा वन्यजन्तु संरक्षण समाज र परिवर्तन थिएटरको सहकार्यमा उत्सव अवधिमा चरा अवलोकन, भित्तेचित्र लेखन, फोटो प्रदर्शनी, नाटक मञ्चन र सामूहिक छलफल कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
नेपाली वैज्ञानिक डा उत्तमबाबु श्रेष्ठले ‘पर्यावरणीय सङ्कट र नेपाल’ शीर्षकमा उद्घाटन मन्तव्य दिनुहुने र भारतको लद्दाखका वैज्ञानिक सोनाम वाङचुकले हिमालय क्षेत्रको पर्यावरण संरक्षणमा भइरहेको आन्दोलन र त्यसका उपलब्धिहरूका बारेमा धारणा राख्नुहुने सिवाकोटीले बताउनुभयो । काँकडभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजना हुने त्रिदिवसीय उत्सवमा रु १६ लाख खर्च हुने आयोजकको अनुमान छ ।
Comments are closed.