मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियाे

काठमाडौं ।  मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ ।  गठबन्धन सरकामा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको हो ।

सरकारबाट बाहिरिने निर्णय गरेसँगै सो पार्टी सरकारमा सहभागी दुई मन्त्रीलाई  फिर्ता बोलाएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेस सरकारबाट बाहिरिएको पत्र जनमत पार्टीले बुझाएको छ । अहिले मधेस प्रदेशमा जनता समाजवादी पार्टीको नेतृत्वमा गठबन्धन सरकार  छ ।

सो पार्टीबाट सरकारमा गएका शिक्षा तथा समाजकल्याण मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंह सरकारमा सहभागी रहेकोमा फिर्ता बोलाएर सरकारबाट बाहिरिएको पत्र बुझाइएको हो ।

सोमबार सप्तरीको राजविराजमा जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री सरोजकुमार यादवले मधेस कृषि विश्वविद्यालय भवनको शिलान्यास गर्दा विरोध प्रदर्शन गर्ने क्रममा शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादव र जनमतका नेता कार्यकर्ताहरूमाथि प्रहरीले लाठीचार्ज गरेपछि जनमतले सरकार छाडेको हो ।

Comments are closed.