थारू संस्कृतिलाई प्रदेश सरकारले संरक्षण गर्छ: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति नेपालकै गौरव भएकोले प्रदेश सरकारले यो समुदायको संस्कृतिको संरक्षण गर्ने बताउनुभएको छ ।

थारू कल्याण कारणी सभाले आज सुनसरीको बर्जू गाउँपालिकामा आयोजना गरेको चौथो बर्जू माघी महोत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकोले यस्को संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएको बताउनुभयो ।

थारू समुदायको घरको भित्तामा महिलाहरूले बनाउने चित्र हाम्रो संस्कृति र परम्परा भएकोले त्यसलाई मासिन दिन नहुने मुख्यमन्त्री कार्कीको भनाई थियो ।

प्रदेश सरकारले सम्पूर्ण थारू, राजवंशी लगायतका आदिवासी, जनजाति, अल्पसङ्ख्यकको भाषा, संस्कृति संरक्षण, संवर्द्धन, अध्ययन, अनुसन्धान र विकासका लागि फाल्गुनन्द भाषा, संस्कृति अध्ययन प्रतिष्ठान गठनका लागि बजेट विनियोजन गरेर काम अघि बढाएको मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

उहाँले महाभारत कालको पौराणिक इतिहास बोकेको बर्जू पछि परेकोले प्रदेश सरकारले विराटनगरसँग जोडेर सहरको रूपमा विकास गर्न केसलीयाको दुवै किनारमा सडक निर्माण कार्यलाई अघि बढाएको उल्लेख गर्नुभयो ।

Comments are closed.