मेची भन्सारले १२ अर्ब ९३ करोड राजस्व उठायो

भद्रपुर (झापा) : मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । चालु आब सकिन एक महिना बाँकी हुँदा भन्सार कार्यालयले लक्ष्यको ७७.५७ प्रतिशत राजस्व संकलन गरेको हो।
मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको ११ महिनामा गत आवको सोही अवधिको तुलनामा आयात ३.६१ प्रतिशतले घट्दा निर्यात १०.७६ प्रतिशतले वृद्धि भएको छ । उनका अनुसार काँकडभिट्टा भन्सारबाट ४० अर्ब ७९ करोड ६१ लाख ७२ हजारको मालवस्तु आयात हुँदा २२ अर्ब २१ करोड ९० लाख १० हजार रुपैयाँकोवस्तु निर्यात भएको छ।

चालु आर्थिक वर्षको जेठसम्म गत आवको तुलनामा निर्याततर्फ छुर्पी ६५.२९ प्रतिशत, प्लाउड ५६.३३ प्रतिशत, अदुवा ३५.४५ प्रतिशत, अम्रिसो ३१.३४ प्रतिशत र भेनियस सिट १२.५७ प्रतिशतले वृद्धि भएको सूचना अधिकारी कँडेलले जानकारी दिए। अलैँची २.६१ प्रतिशत र चिया १३.४२ प्रतिशतले निर्यात घटेको छ।

यसैगरी, पेट्रोल, फलामका सामग्री र विद्युतीय उपकरणलगायत आयातमा सामान्य वृद्धि हुँदा डिजेल, हवाई इन्धन, तरकारी, जुट, जिप्सम, कपडा, एलपिजीलयायत सामग्री आयात गत आवको ११ महिनाको तुलनामा घटेको छ। काँकरभिट्टा नाकाबाट आयात हुने पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, खाना पकाउने ग्यास, सबै प्रकारका तरकारी, जिप्सम, अलकिड रेजिन, सबै प्रकारका कपडा तथा फलफूल र भेनियस सिटलगायत छन्।

यो नाकाबाट अलैँची, फलामका पाता, प्लाइ उड, चिया, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिंकरलगायत सामग्री निर्यात हुने गरेको छ।

 

Comments are closed.