काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ ।
उहाँहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा मंगलबार दिँउसाे भेटवार्ता भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीबीच देशकाे पछिल्लाे राजनीतिक अवस्था संक्रमणकालीन न्यायलसँग सम्बन्धित लगायत समसामयिक विषयमा छलफल हुने बताइएकाे छ ।
वार्ताअघि एमाले अध्यक्ष ओलीले पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबार गद्दी बैठक अवलोकन गर्नुभएकाे थियाे । ०७२ को भूकम्पपछि क्षति पुगेको साे भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी मंसिर ६ गतेदेखि सञ्चालन गरिएको थियो । साेही दिन नै प्रधानमन्त्रीकाे कार्यकक्ष साे भवनमा सारिएको थियो ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा भवनको पुनर्निर्माण सुरू भएको थियो । ०७२ वैशाख १२ गतेकाे भूकम्पले क्षतिग्रस्त भएपछि मुलुकको प्रमुख कार्यकारी बस्ने भवन सिंहदरबार परिसरकै स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो ।
सिंहदरबारस्थित केहीदिनअघिसम्म रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पश्चिमतर्फ भागको नयाँ कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड मंसिर ६ गते सर्नुभएकाे थियाे । पुनर्निर्माण गरी तयार भएकाे साे नयाँ कार्यकक्षकाे उहाँले साेही दिन नै उद्घाटन गर्नुभयाे । सिंहदरबारकाे मूल भवनकाे पूर्व, उत्तर र दक्षिणी भागको प्रबलीकरण सकी आन्तरिक सजावट समेत सकेर उद्घाटन गरिएकाे हाे ।
Comments are closed.