नेपालको विकासमा चीन सरकारको थप सहयोगको

काठमाडौं । नेपालको विकासमा चीन सरकारले थप सहयोगको हात अघि बढाएको छ ।

चीनले काठमाडौं चक्रपथको कलङ्कीदेखि वसुन्धरा महाराजगञ्जसम्मको सडक निर्माणमा थप सहयोग गर्ने भएको छ । सँगै विभिन्न सडकको स्तरोन्नति तथा सुधारमा पनि चीन सरकारले नेपालाई सहयोग गर्न सहयोगी हात अघि बढाएको छ ।

कूल ८.२ किलोमिटर कलङ्कीदेखि वसुन्धरा महाराजगञ्जसम्मको सडक निर्माण, हिल्सा–सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसीपी र आइसीडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रण सम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी चारवटा छुट्टाछुट्टै सहयोग आदान प्रदानसम्बन्धी पत्रमा नेपाल सरकारसँग चिन सरकारले हस्ताक्षर गरेको छ ।

नेपाल सरकारको तर्फबाट अर्थ सचिव डा.घिमिरेले र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले सो पत्रमा बिहीबार हस्ताक्षर गर्नुभएको छ । कार्यक्रममा अर्थ मन्त्री विष्णु पौडेल, नेपालका लागि चीनका राजदूत चेन सोङ लगायतको उपस्थित रहेको थियो ।

सो कार्यक्रममा अर्थ मन्त्री विष्णु पौडेलले वीर अस्पतालको पूर्वाधार निर्माण, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माणको सम्भाव्यता अध्ययन गरी डीपीआर तयार तथा पूर्वाधार निर्माण लगायतमा चीन सरकारको सहयोगका लागि अनुरोध गर्नुभयो । उपाध्यक्ष याङ वेइहुनले नेपाल सरकारको तर्फबाट अनुरोध प्राप्त भइसकेको र यसलाई चिनियाँ पक्षले अध्ययन गरी थप प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

नेपाल सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न पनि चिनियाँ पक्षलाई अनुरोध गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न अनुरोध गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गर्नुभयो ।

पत्र हस्तान्तरण गर्नुअघि उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएकोले नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई अनुरोध गर्नुभएको थियो । उहाँले नेपाल सरकारले गरेको अनुरोधलाई चिनियाँ पक्षले सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपाल सरकारले चीनको एक्जिम बैँकबाट हालको विनिमय दर अनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ (१३३८.७४ मिलियन चिनियाँ युआन) ऋण सम्झौता गरेको थियो । २०७२ साल चैत्र ८ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भई २०७३ साल पुस २७ गतेबाट निर्माण कार्य सुरु भएको थियो । २०७९ साल पुस १७ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो ।

Comments are closed.