बहुभाषिक कवि गोष्ठीमा २१ भाषाका स्रष्टाले रचना वाचन गरे

काठमाडौँ —नेपाल स्रष्टा समाजको १६औं स्थापना दिवसका अवसरमा  बहुभाषिक कविगोष्ठी सम्पन्न गरिएको छ।

बहुभाषिक कवि गोष्ठीमा २१ भाषाका स्रष्टाले रचना वाचन गरेका छन् । गोष्ठीमा कवि नवराज कट्टेलले संस्कृत, शिवराज जैसीले अछामीमा, कविराज तामाङ र अजितमान तामाङले तामाङमा, कोइँच (सुनुवार)मा शारदा किरात सुनुवारले रचना वाचन गरेका थिए ।

स्तै खसमा रमेशजंग थापा, थारुमा लक्की चौधरी, चेपाङमा सुमन प्रजा, वाम्बुलेमा गणेश राई, शीतल गिरीले बज्जिका भाषामा वाचन गरेका थिए । भोजपुरीमा गोपाल अस्क, शेर्पामा सेर्कु शेर्पा, अब्दुल सलामले उर्दूमा, नेपालभाषा (नेवारी)मा प्रेममान डंगोल र नरेन्द्रबहादुर श्रेष्ठले कविता वाचन गरेका थिए ।

कवि प्रल्हाद पोखरेल, राजेन्द्र सलभ र विश्वविमोहन श्रेष्ठले नेपालीमा, हेमन्त दाहाल र राजेन्द्र खनालले अंग्रेजीमा, सीताराम प्रकाशले हिन्दीमा, राजेन्द्र गुरागाईले बंगालीमा, धिरेन्द्र प्रेमर्षिले मैथिलीमा कविता वाचन गरेका थिए । गोष्ठीमा धिमालमा सोम धिमाल, गुरुङमा रत्नबहादुर गुरुङ र थामीमा रमेश थामीको कविता सहभागी थियो ।

स्रष्टा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले मुलुकमा बोलिने भाषा साहित्यको उन्नयनका निम्ति बहुभाषिक कवि गोष्ठीको आयोजना गरिएको बताए । समालोचक लक्ष्मण गौतमले जीवन्त नेपाली समाजको भाषाहरूको साहित्य एकैथलोमा वाचनले ‘इन्द्रेणी सौन्दर्य’को विकास गर्ने बताए ।

नाटककार अशेष मल्ल, समाजका संस्थापक अध्यक्ष पवन आलोक, कोषाध्यक्ष तारा सुवेदीलगायतले गोष्ठीबारे बोलेका थिए ।

Comments are closed.