‘प्रगति’ र बाँसकोटा सम्झाउने स्मृतिग्रन्थ

 

काठमाडौँ — नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा ‘प्रगति’ पत्रिका र यसका सम्पादक नारायणप्रसाद बाँसकोटाको योगदानलाई स्मरणमा ल्याउने गरी ‘स्मृतिभेट’ प्रकाशनमा आएको छ ।

२०१० सालदेखि लगातार द्वैमासिक रुपमा १६ अंकसम्म निस्किएको पत्रिकाको इतिहास छोटो भएपनि यसले नेपाली साहित्यमा खनेको गोरेटो तथा नेपाली अब्बल लेखक/स्रष्टालाई स्थापित गराउन दिएको स्थानको परिचर्चा गर्न ‘प्रगति र नारायणप्रसाद बाँसकोटा: स्मृतिभेट’ प्रकाशनमा ल्याइएको प्रकाशकले जनाएका छन् । सम्पादक बाँसकोटाका छोरा डा.कमल बाँसकोटा र प्राध्यापक बद्रीविशाल भट्टराईको सम्पादनमा निस्किएको ‘स्मृतिभेट’मा झण्डै दुइ दर्जन वरिष्ठ स्रष्टाले ‘प्रगति’लाई लिएर गरेको इतिहासको स्मरणलाई स्थान दिइएको छ ।

 

यही पत्रिकामा महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, बाबुराम आचार्य, चित्तरन्जन नेपाली, गुरुप्रसाद मैनाली, माधवप्रसाद घिमिरे, केदारमान व्यथित, बीपी कोइराला, भवानी भिक्षु, गोविन्द गोठाले, विजय मल्ल, शंकर लामिछाने, रमेश विकल, हृदयचन्द्रसिंह प्रधान, मोहन कोइराला, कमल दीक्षित, ईश्वर बराल, लैनसिंह वाङदेल आदिका प्रथम वा कहलिएका विशिष्ट रचना छापिएको इतिहासलाई पुन:स्मरण गरिएको छ । सम्वत् १९७९ मा जन्मिएका सम्पादक बाँस्कोटाको निधन २०५३ सालमा भएको थियो ।

‘इतिहासको एउटा कालखण्डमा साहित्यिक पत्रकारिताको माध्यमबाट भाषा–साहित्यको संवर्द्धन तथा प्रबर्द्धन गर्नमा ‘प्रगति’ पत्रिकाले पुऱ्याएको योगदान अविस्मरणीय छ, अकाट्य पनि,’ साहित्यिक पत्रकार एवं बनारसबाट प्रकाशित हुने ‘उदय’ पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठ भन्छन्, ‘सम्पादक नारायणप्रसाद बाFसकोटा र ‘प्रगति’ पत्रिकाको इतिहास हराइसकेको थियो, तर यो ‘स्मृतिभेट’ प्रकाशनले इतिहासको एउटा खण्डलाई ब्युँताइदिएको छ ।’ ‘प्रगति’का १६ अंकमध्ये १० वटा अंक भारतको बनारसबाट छापिएका थिए । संग्रहित स्मृतिभेटमा ‘प्रगति’का सबै अंकको आवरण तथा तत्कालीन लेखकहरुको टिपोटसमेत समेटिएको छ ।

‘प्रगति’मा विदेशी लेखक खलिल जिब्रान, रविन्द्रनाथ टैगोर, एन्टन चेखव, टीएस इलियट, बाल्जाक, ओ.हेनरी, मेक्सिम गोर्की, दोस्तोवेस्की आदिका रचना पनि अनुदित रुपमा छापिएको इतिहासलाई स्मृतिभेटमा स्मरण गराइएको छ । सुरुवातमा प्रगतिशील लेखक संघले प्रकाशन गर्ने भनिएर पनि सम्पादक बाँसकोटाको निजी प्रयत्न तथा ग्राहक शुल्कबाट बाहिर आएको ‘प्रगति’को पहिलो अंकको प्रकाशकीयमा भनिएको छ, ‘हाम्रो साहित्य र जीवनको स्थायी तथा सामयिक आवश्यकताहरुले ‘प्रगति’को प्रकाशनलाई अनिवार्य गराएर आज ‘प्रगति’ नेपाली समाजमा नयाँ चेतना र नयाँ प्रेरणाको सन्देश लिएर उपस्थित भैरहेछ ।’

Comments are closed.