जलवायु असरबाट भएको क्षतिको नेपालले न्यायपूर्ण क्षतिपूर्ति पाउनु पर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वमा शान्ति र समृद्धि सुनिश्चित गर्न औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको अन्तराष्ट्रिय विकास संघ ( आइडीए) को २१ पुनः पूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउनुपर्ने बताउनुभयो । यसो गरियो भने मात्र विद्यमान असमानता सम्बोधन हुने दाहालको धारणा छ ।

अल्प विकसित र विकासोन्मुख देशले राजस्वका सीमा, व्यापार घाटा एवं बढ्दो ऋणको दायित्वहरूको सामना गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । यसले गर्दा पूर्वाधार विकासमा वित्तीय स्रोत अपुग रहेको दाहालले बताउनुभयो । दाहालले अतिरिक्त रोजगारका अवसर सिर्जना गर्न, आर्थिक गतिविधि तीव्र रूपमा अगाडि बढाएर अति कम विकसित मुलुकबाट स्तरोन्नति हुनका लागि नेपाललाई सहुलियतपूर्ण सहायता आवश्यक रहेको प्रष्ट पार्नुभयो ।

दाहालले जलवायु परिवर्तन आजको मुख्य चुनौती बनेको बताउनुभयो । ‘जलवायुसँग सम्बन्धित कार्य गर्ने, कमजोरलाई र सानालाई सहयोग गर्ने एवं पानी र खाद्य सुरक्षा सुनिश्चित गर्ने मुख्य जिम्मेवारी हो’, उहाँले भन्नुभयो ।

दाहालले जलवायु परिवर्तनका प्रभावले संवेदनशीलतालाई अझ बढाएको उल्लेख गर्दै नेपालमा कठिनाइपूर्वक प्राप्त भएका विकासका लाभहरू उल्टिने जोखिम रहेको बताउनुभयो । नेपालजस्ता अल्पविकसित देशको लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्त्वपूर्ण भएको उहाँको धारणा छ । ‘हामी धेरै सङ्कटहरूमा संवेदनशील छौँ र हामीले कठिनाइपूर्वक प्राप्त गरेका विकास लाभहरू उल्टिने जोखिम छ’ दाहालले भन्नुभयो ।

विश्वव्यापी उत्सर्जनमा नगण्य भूमिका रहेको भए पनि नेपालले जलवायु परिवर्तनका प्रतिकूल प्रभाव र असरको चुनौती सामना गरिरहनु परेको बताउनुभयो । जलवायु असरबाट भएको क्षतिको न्यायपूर्ण क्षतिपूर्ति पाउनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘हाम्रो नियन्त्रण बाहिरका परिस्थितिका कारण भएको क्षति र हानिको क्षतिपूर्ति पाउनका लागि हामीले जलवायु न्यायको पक्षमा वकालत गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।

दाहालले विनाशकारी भूकम्प, विपद्, विश्वव्यापी महामारी र विश्वव्यापी आर्थिक चुनौतीका कारण नेपालको आर्थिक विकास र समृद्धिमा चुनौती थपिएको बताउनुभयो । राजनीतिक स्थिरतापछि पर्याप्त सम्भावनालाई उपयोग गर्दै आर्थिक विकासको बाटोमा दृढ रूपमा नेपाल अघि बढेको उहाँले प्रष्ट पार्नुभयो । दाहालले एसियाका दुई ठूला अर्थतन्त्रबिचमा रहेको नेपालमा जलविद्युत, पर्यटन र कृषि व्यवसाय क्षेत्रहरूमा राम्रो विकासको सम्भावना रहेको जानकारी दिनुभयो ।

Comments are closed.