वेस्ट इन्डिज ‘ए’विरुद्धको पहिलो टि-ट्वान्टी नेपालले जित्यो, कप्तान रोहितको शतक

काठमाडौं । वेस्ट इन्डिज ‘ए’सँगको पाँच दिवसीय टि-ट्वान्टी अन्तर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ । टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २ सय ५ रनको लक्ष्य नेपालले २ बल बाँकी छँदै ६ विकेट गुमाएर २ सय ६ बनाउँदै पूरा गर्यो । नेपालको जितका लागि कप्तान रोहित पौडेलले १ सय १२ रनको शतकीय पारी खेले ।
नेपालका कप्तान रोहित पौडेल १ सय १२, दिपेन्द्र सिंह ऐरी २४, विवेक यादव ७, ओपनर अनिल साह ५, कुशल भुर्तेल १६ र कुशल मल्लले १६ रनको योगदान दिए । गुल्सन झ ९ र प्रतिश जिसी ५ रनमा नटआउट रहे ।
टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले रोस्टन चेजको सर्वाधिक ७४ रनसहित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । ४६ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे । यस्तै एलिक एथान्जेले ४७ र केइसी कार्टीले ३८ रन बनाए । नेपालका लागि कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान १-१ विकेट लिए ।

Comments are closed.