नेपालको लक्ष्य, साफ यु–१९ च्याम्पियनसिपको उपाधि जित्ने
काठमाडौँ । नेपालले बिहीबारदेखि सुरु हुने साफ यु–१९ च्याम्पियनसिपको पाँचौँ संस्करणमा घरेलु मैदानको फाइदा लिँदै उपाधि जित्ने लक्ष्य राखेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रतियोगिता अगाडि बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली युवा टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले तयारी राम्रो भएको र घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन दिने बताए । सबै खेलाडी मिहिनेत गरेको र घरेलु मैदानमा हुने च्याम्पियन अवसरको रूपमा समेत लिएको प्रशिक्षक श्रेष्ठको भनाइ छ ।
पत्रकार सम्मेलनमा ६ मध्ये पाँच टोलीका कप्तान तथा प्रशिक्षक उपस्थित थिए । पाकिस्तान भने नेपाल आइनपुगेका कारण कार्यक्रममा उपस्थित भएन । भारत यो प्रतियोगिताका लागि सन् २०२१ देखि नै तयारी गर्दै आइरहेको छ । खेलाडीहरूलाई ट्रायलमार्फत छनोट गर्दै उनीहरूलाई साफका लागि दुई वर्षदेखि प्रशिक्षण गरिरहेको जनाएको छ ।
साथै साफ नजिकिएपछि साउदी अरेबिया गएर बन्द प्रशिक्षण गरेको थियो । काठमाडौं आउनुअघि साउदीमा दुई अभ्यास खेल खेलेको र दुवैमा जित प्राप्त भएको भारतीय टोलीले जनाएको छ ।
भारतीय यु–१९ टोलीका प्रशिक्षक शुभेन्दु पान्डा पर्याप्त प्रशिक्षण गर्न पाएकाले सुखद् नतिजा आउनेमा आशावादी रहेको बताए । दुई वर्षदेखि नै टोली निर्माणका लागि समय बिताएको र देशभरबाट छनोट गरिएकाले यो टोलीले राम्रो नतिजा दिने भारतीय प्रशिक्षक शुभेन्दुको विश्वास छ ।
यु–१९ च्याम्पियनसिपको पाँचौँ संस्करणसम्म आइपुग्दा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन् । नेपालबाटै सुरु भएको यो उमेर समूहको च्याम्पियनसिमा नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो । २०१५ मा काठमाडौँमा सम्पन्न पहिलो संस्करणमा विमल घर्तिमगरको कप्तानीमा नेपालले उपाधि जितेको थियो । त्यसको दुई वर्षपछि भुटानको थिम्पुमा नेपालले दोस्रो उपाधि जित्यो । यद्यपि, त्यो यु–१८ साफ च्याम्पियनसिप हो ।
अर्पण कार्कीको नेतृत्वमा नेपाल पाँच टोली सहभागी प्रतियोगितामा च्याम्पियन भएको थियो । सिंगल राउण्ड रोबिन पद्धतिमा अंकतालिकाको शीर्ष स्थानमा रहँदै लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । तेस्रो संस्करण २०१९ मा नेपालले नै आयोजना गरेको थियो । तर, यु–१८ साफ च्याम्पियनसिपमा नेपालले समूह चरण पनि पार गर्न सकेन । पछिल्लो संस्करण २०२२ मा यु–२० साफ च्याम्पियनसिप भारतले आयोजना गर्यो । तर, आयुष घलानको कप्तानी रहेको नेपालले यस उमेर समूहमा पनि राम्रो नतिजा ल्याउन सकेन ।
सिंगल राउण्ड रोबिन पद्धतिका आधारमा भएको उक्त च्याम्पियनसिपमा नेपाल तेस्रो स्थानमा खुम्चियो । यस पटक भने नेपाल यु–१९ उमेर समूहको च्याम्पियनसिपमा घरेलु मैदानको फाइदा उठाउँदै सुखद नतिजा ल्याउने लक्ष्यमा छ । माल्दिभ्सका मुख्य प्रशिक्षक ऐहमद शाकिरले पनि ९० प्रतिशत घरेलु लिग खेलेका खेलाडी रहेको र पछिल्लो २८ दिनको प्रशिक्षणबाट सक्दो राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।
यस च्याम्पियनसिपमा बंगलादेशलाई पनि दाबेदार टोलीका रूपमा हेरिएको छ । बंगलादेशका प्रशिक्षक रसिद अहमदले तयारीका लागि कम समय पाएपनि यसपटक फाइनल पुग्ने लक्ष्य रहेको बताएका छन् ।
यस च्याम्पियनसिपमा सहभागी ६ टोलीमध्ये पाँच राष्ट्रका कप्तानहरूले प्रतियोगिताका लागि उत्साहित रहेको र अहिले पहिलो खेलमा केन्द्रित रहने बताए । नेपालले बिहीबार साँझ साढे ५ बजे दशरथ रङ्गशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसअघि उद्घाटन खेलमा दिउँसा भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल यस च्याम्पियनसिपमा समूह ‘ए’ मा छ । यो समूहमा पाकिस्तान र माल्दिभ्स छन् । अर्को समूह ‘बी’ मा विजेता भारत, साबिक उपविजेता बङ्गलादेश र भुटान छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालको पहिलो लक्ष्य समूहमा शीर्ष स्थान ओगट्दै सेमिफाइनलमा बलियो दाबेदारी प्रस्तुत गर्ने हुनेछ । समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा भारत, भुटान र बङ्गलादेश छन् । नेपालको कप्तानी गोलकिपर जियारथ शेखले गर्नेछन् ।
Comments are closed.