ओहो ! प्रकृति

ओहो ! प्रकृति

हे धरती माता !
तिम्रो विशाल काखमा
फैलिएको यो लोकमा
देख्दैछु यो दिव्य प्रकृति
र यसको अलौकिकता
देखेसम्म ओछ्याएर यी
ललायित आँखाहरू
पिउँदै अमृतरस दृष्यभरि
म आज पुगेँ कता कता !
टेक्दै यी पाईलाहरू
आफ्नै होईनन् जस्तो गरि
देखेर धरती स्वर्गसरि
प्रकृतिको अद्वितीय रूप
देख्दैछु आहा विविध छटा ।

वयान खै गरुँ म के गरि ?
कतै त देखिन्छन् अद्भुत नौलो
देवलसरिका चट्टानै बडा
उभिएका देखिन्छन् कति
मिलेर सदियौंदेखि खडा !
कतै त सुमेरु पर्वतीय दृष्य
देखिन्छन् ती लहरै-लहर
जागेरै देखेँ सपना सुन्दर
खुला आँखाले बडो मनोहर !
कतै अक्करिलो पहाडको
शिखरमा जङ्गल हराभरा !

प्रकृति तिमी धनधान्यवती
रुप र दुर्लभ सम्पदा कस्तो
बुझेर पनि बुझ्नै कठिन अझ
ईश्वरको अनुकम्पा जस्तो !
तिम्रै वक्षमा लमतन्न परेको
सडक छ जङ्गल बीच कतै
हराउन मन लाग्यो मलाई
लुटुपुटु गर्दै तिमीसँग यतै !
प्रकृतिको अति सुन्दर तर
कति त भयंकर दृष्यहरू पिएँ
ढुनमुनिंदै, कक्रिएर भयले
कहिले एकै डल्लो परिगएँ !
काम्दै डरले नानाथरि कल्पी
अनेकौँ फलाक्दै जपिरहेँ !
तिम्रै काखको चट्टान समाई
कहालिंदै कहर खपिरहेँ !
धन्य छौ तिमी धन्य प्रकृति
अनवरत चलिरहेछ यसैगरी
सार्थक छौँ जीवन बोकेर
तिमी छौ र जीवित छ यो धरती
तिमी छौ र जीवित छ यो धरती ॥

 

माया गुरुङ

वेलायत

 

सन्दर्भ: ग्रान्ड क्यान्वोन ( Grand Canyon visit)

Comments are closed.