कवि नन्दु उप्रेतीको एकल कविता वाचन सम्पन्न

काठमाडौं। राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष अद्वैतमार्ग, बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९१ औँ शृङ्खलामा सशक्त प्रगतिवादी कवि नन्दु उप्रेतीका एक दर्जन कविता गुञ्जिए ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा एमाले संस्कृति विभाग प्रमुख, पूर्वमन्त्री एवम् साहित्यकार माननीय रघुजी पन्त उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका उपाध्यक्ष आर.सी.न्यौपाने, प्राज्ञ प्रा.डा.गोपीन्द्र पौडेल, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति नन्दबहादुर सिंह, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, एमाले उद्योग व्यवसाय काठमाडौँ विशेष जिल्ला कमिटी इन्चार्ज कृष्णप्रसाद अर्याल, भीष्म उप्रेती, नर्मदेश्वरी सत्याल, डा.राजेन्द्रप्रसाद अधिकारी, अनिल पौडेल, महेशराज खरेल, त्रिलोचन आचार्य, खेमराज निरौला, डम्बर पहाडी, कविकी जीवनसङ्गिनी पवित्रा सुवेदीलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपाल अविरल जनसाहित्य यात्रा संयोजन समिति सदस्य देबु लुइटेलको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा अविरल जनसाहित्य यात्रा संयोजन समितिका संयोजक डा.हरिप्रसाद सिलवालले कविनायक नन्दु उप्रेतीको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै पुराना स्थापित र नयाँ समसामयिक चेतनाका सक्रिय स्रष्टालाई ल्याएर एक दर्जन कविता सुन्ने र सिर्जनामाथि टिप्पणीसमेत गर्ने यो समारोहमा आज हामीले नन्दु उप्रेतीका समसामयिक विषय र सन्दर्भका एक दर्जन कविता प्रस्तुत गर्नेगरी कविलाई उभ्याएका छौँ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका र साहित्यका माध्यमबाट सामाजिक विकृतिमा रूपान्तरण गर्ने तथा मानवहितका लागि साहित्य सिर्जना गर्ने अभियानमा सामेल रहेका स्रष्टालाई आज हामी सुन्ने छौँ ।

वि.सं.२०२३ असार १५ गते इलाम जिल्लाको साङरुम्बामा माता मनकुमारी उप्रेती र पिता गङ्गाप्रसाद उप्रेतीका सुपुत्रका रूपमा जन्मिएका नन्दु उप्रेतीले त्रिभुवन विश्वविद्यालयबाट एम.ए., एम.एडसम्मको शिक्षा हासिल गरेका छन् । २०३८/३९ सालदेखि नै साहित्यमा कलम चलाएका नन्दुको खास नाम भने नन्दप्रसाद उप्रेती हो । उनले नेपाली साहित्यका कविता, नियात्रा, बालकविता, गीत, साहित्यिक अनुसन्धान आदि क्षेत्रमा कलम चलाउनुका साथै पत्रकारितासमेत गरेका छन् । प्रगतिशील लेखक सङ्घ नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहेका उनले डेढ दशकभन्दा लामो समयसम्म विद्यालय सञ्चालनसमेत गरेका छन् । २०५४ सालमा रेडियो नेपालको घटना र विचार कार्यक्रमको सहसञ्चालक भएर अनि २०५६ सालमा चलचित्र सेन्सर बोर्डको सदस्यका रूपमा पनि उनले काम गरेका छन् । वर्तमानमा यद्धप्रसाद स्मृति प्रतिष्ठानका महासचिवका रूपमा क्रियाशील उप्रेतीका ‘फेवादेखि विवासम्म’ नियात्रासङ्ग्रह २०५६, ‘हामी साना लालाबाला’ बालकवितासङ्ग्रह २०६०, ‘सानी सानी पुतली’ बालकवितासङ्ग्रह २०६०, ‘हृदयको ज्योति’ किशोर कथा (अनुवाद) २०६५, ‘कालापानी यात्रा’ नियात्रासङ्ग्रह २०७५, ‘नेपाली लघुउपन्यास: परम्परा र प्रवृत्ति’ अनुसन्धान २०७९, ‘नन्दु उप्रेतीका कविताहरू’ अडियो कविता २०८० जस्ता कृति प्रकाशित भइसकेका छन् । झण्डै आधा दर्जन कृतिको सम्पादन गरिसकेका उनले विभिन्न मान, सम्मान तथा पुरस्कारसमेत प्राप्त गरेका छन् । नेपाली समाजको नजिकबाट अवलोकन गर्ने र देखिएका विकृति उजागर गरी रूपान्तरणका पक्षमा कलम चलाउने उप्रेती सामाजिक-सांस्कृतिक रूपान्तरण अभियानका अभियन्तासमेत रहेको धारणा राख्नुभयो ।

Comments are closed.