तनहुँमा ६७ जातजाति र ४१ मातृभाषा‚ ६ पालिकाको जनसंख्या घट्दो

दमौली : तनहुँमा ६७ जातजाति पहिचान भएका छन्। एक दशकमा जिल्लामा ७ जातजाति थपिएका छन्।

विसं २०७८ को जनगणनाको जिल्लास्तरीय नतिजा सार्वजनिक गर्न आज (सोमबार) दमौलीमा आयोजित कार्यक्रममा तथ्याङ्क कार्यालयका निर्देशक जगुलाल बस्यालले २०६८ सालको जनगणनामा जिल्लामा ६० जातजाति रहेका जानकारी दिए।

जिल्लामा मगर, क्षेत्री, ब्राह्मण, गुरुङ, विश्वकर्मा, नेवार, मिजार, परियार, कुमाल, ठकुरी, मुसलमान, बोटे, सन्यासी, दुरा, राई, सुनुवार, माझी, घले, गाइने, यादव, कमार, खवास, थकाली, बरामलगायतका जातजाति गणनाका क्रममा पहिचान भएको उनले बताए।

तनहुँको कूल जनसङ्ख्या ३ लाख २१ हजार १५३ छ। यसमा महिला १ लाख ७१ हजार ५९ र पुरुष १ लाख ५० हजार ९४ रहेका छन्।

सबैभन्दा बढी मगरको सङ्ख्या रहेको छ। तथ्याङ्क अनुसार मगरको जनसङ्ख्या ८३ हजार ६३९, क्षेत्री ३६ हजार ८३३, ब्राम्हण ३६ हजार ६७२ र गुरुङ ३५ हजार १८४ रहेका छन्।

सबैभन्दा कम राजपुतको जनसङ्ख्या ९ रहेको छ। त्यस्तै कायस्थ ११, कोचे १२, लोहरुङ १३, धिमाल १३, भूमिहार १४ र छन्त्यालको जनसङ्ख्या १५ रहेको बस्यालले जानकारी दिए।

तनहुँमा ४१ मातृभाषा पहिचान भएका छन्। विसं २०६८ को जनगणना अनुसार २८ मातृभाषा रहेकामा एक दशकको अवधिमा १३ मातृभाषा थपिएका छन्। सबैभन्दा बढी बोल्ने नेपाली (६२.७ प्रतिशत) रहेका छन्।

६ पालिकाको जनसङ्ख्या ऋणात्मक

सार्वजनिक तथ्याङ्कअनुसार जिल्लाका १० पालिकामध्ये ६ पालिकाको जनसङ्ख्या ऋणात्मक देखिएको छ।

बन्दीपुर गाउँपालिकाको जनसङ्ख्या वृद्धिदर माइनस ०.७४, भानु नगरपालिकाको माइनस ०.६५, भिमाद नगरपालिकाको माइनस ०.६७, देवघाट गाउँपालिकाको माइनस ०.९७, घिरिङ गाउँपालिकाको माइनस २.८६ र ऋषिङ गाउँपालिकाको माइनस ३.५२ जनसङ्ख्या छ।

शुक्लागण्डकी नगरपालिकाको जनसङ्ख्या वृद्धिदर १.३२, म्याग्दे गाउँपालिकाको ०.४५, व्यास नगरपालिकाको १.११ र आँबुखैरेनी गाउँपालिकाको ०.६६ प्रतिशत छ।

आँबुखैरेनीमा २२ हजार २५२, बन्दीपुरमा १८ हजार ५३२, भानुमा ४२ हजार ७९४, भिमादमा २९ हजार २४८, व्यासमा ७८ हजार ९३९, देवघाटमा १४ हजार ५८४, घिरिङमा १४ हजार ३३४, म्याग्देमा २३ हजार ५७८, ऋषिङमा १७ हजार ९१८ र शुक्लागण्डकीमा ५५ हजार ६२० जनसङ्ख्या रहेको छ।

तथ्याङ्क सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जनगणनाको तथ्याङ्कमा आधारित रहेर जिल्लाका स्थानीय तहले विकासका योजना तर्जुमा गर्नुपर्ने उल्लेख गरे।

 

Comments are closed.