नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुँदै ‘प्रेमगीत–३

काठमाडौँ — फिल्म ‘प्रेमगीत ३’ असोज ७ देखि भारत र नेपालमा एकैसाथ प्रदर्शनमा आउने भएको छ । फिल्म ‘प्रेमगीत ३’ अब भारतमा पनि एउटै नाममा प्रदर्शन हुने भएको छ । फिल्मलाई यसअघि ‘विश्वजितम’को नामले भारतमा प्रदर्शन गर्ने तयारी थियो । तर, नेपाल र भारतमा प्रचारका लागि एउटै नाम प्रयोग गर्दा फाइदा पुग्ने देखेपछि फिल्मको प्रतिलिपि लिएको कम्पनीले ‘प्रेमगीत ३’कै नाममा फिल्म प्रदर्शन गर्ने भएको हो ।

‘खासमा गुगलमा धेरैले प्रेमगीत ३ भनेर खोजेका रहेछन् । अब एउटै फिल्मलाई भारतमा एउटा नाम अनि नेपालमा अर्को भनेर प्रचार गरियो भने राम्रो नहोला भनेर फिल्मको नाम एउटै राखिएको हो,’फिल्मका निर्देशक एवं निर्माता सन्तोष सेन सुनाउँछन्,’भारतले पनि आजबाट यही नाममा फिल्मको प्रचार सुरु गरेको छ ।’

फिल्मलाई भारतमा युएफओ, मधु इन्टरटेन्टमेन्टले वितरण गर्दैछ । सन्तोष फिल्म ओटीटी प्लेटफर्म अमेजनमा पनि प्रदर्शनमा आउने बताउँछन् । नेपाली फिल्मलाई भारतमा प्रदर्शन गर्न पाउँदा दंग छन् सन्तोष । ‘अब हाम्रो कला भारतीय बजारमा देखिँदैछ । त्यो नै हाम्रो लागि ठूलो खुशी हो । २ वर्ष हामी मुम्बई बसेर गरेको मिहेनत देखिँदैछ,’उनले भने ।

फिल्मलाई भारतमा प्रदर्शन गर्न हिन्दी भाषामा डब गरिएको छ । फिल्मको लगानी भारतमा प्रतिलिपि बेच्दा नै उठिसकेको थियो ।’प्रेमगीत ३’ छेतेन गुरुङको ड्रिम प्रोजेक्ट थियो । २०७७ भदौ २७ मा बितेका छेतेनले आफ्नो ड्रिम प्रोजेक्ट हेर्न पाउँने छैनन् । फिल्ममा छेतेन र निर्माता सन्तोष सेनको निर्देशन छ । अभिनेता प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठलगायतको अभिनय छ ।

Comments are closed.