पत्रकार महासंघले जारी गरेको सदस्यको नामावली विरुद्ध प्रेस चौतारी नेपालले कडा कदम चाल्ने

काठमाडौं । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणको नाममा जारी गरेको सदस्यको नामावली माथि गम्भीर आपत्ति जनाएको छ ।

प्रेस चौतारी नेपालको सचिवालयको शनिबार बसेको आकस्मिक बैठकले नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको नाममा शुक्रबार जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘शुद्धीकरण समितिले निर्धारण गरेको मापदण्ड अनुसार प्रदेश समितिबाट प्रस्तावित सदस्यका नाम सार्वजनिक गरिएको भनी दाबी गरिएको नेपाल पत्रकार महासंघका सदस्यहरूको सूची देखेर प्रेस चौतारी नेपाल आश्चर्यचकित बनेको छ, व्यावसायिक तथा क्रियाशील श्रमजीवी पत्रकारहरूलाई पत्रकार महासंघको सदस्यबाट वञ्चित गरेर जारी गरिएको यो सूचीप्रति प्रेस चौतारी नेपाल आपत्ति प्रकट गर्दछ’, बैठक पछि प्रेस चौतारी नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गएको सात दशक यता महासंघले अभ्यास गर्दै आएको मूल्य–मान्यता, प्रणाली र लागू गर्दै आएको विधान, नियमावलीको जगमा महासंघ सबैको साझा संगठनको रूपमा स्थापित भएको प्रेस चौतारी नेपालले स्मरण गराएको छ । ‘तर, ती सबै अभ्यास, मूल्य–मान्यता, प्रणाली, विधान, नियमावली विपरीत वर्तमान नेतृत्वले महासंघको आवश्यकता र औचित्य माथि नै प्रश्न उठ्ने गरी कदम चालेको प्रेस चौतारीको ठहर छ, महासंघलाई व्यावसायिक तथा श्रमजीवी पत्रकारहरूको संगठन नभई कुनै अमुक राजनीतिक दल र समूहको भातृ संगठनको रूपमा बदल्ने प्रयास गरिनु विडम्बनापूर्ण छ, यो अग्रजहरूको कष्टसाध्य संघर्ष, योगदान र बलिदानबाट स्थापित आम नागरिकहरूको पनि भरोसायोग्य संगठनको गरिमा र सामाजिक स्वीकारोक्तिलाई कमजोर बनाउने प्रयास हो’, प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघका सदस्यलाई शुद्धीकरण गर्दै नेपाल पत्रकार महासंघलाई व्यावसायिक तथा श्रमजीवी पत्रकारहरूको साझा र गौरवमय संगठनको रूपमा विकास गर्न प्रेस चौतारी दृढ रहेको संगठनले पुनः स्मरण गराएको छ । महासंघले सार्वजनिक गरेको सदस्यको नामावली नेपाल पत्रकार महासंघले निर्धारण गरेका १५ बूँदे मापदण्ड, नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न साधारण सभाबाट गरिएको सर्वसम्मत निर्णय, श्रमजीवी पत्रकारहरूको सङ्गठनबिच भएका सहमति र भावना विपरीत रहेको चौतारीले प्रष्ट पारेको छ । ‘तसर्थ, महासंघद्वारा सार्वजनिक सूचना र सूचीलाई तत्काल सच्याउन प्रेस चौतारी नेपाल आग्रह गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।

महासंघद्वारा जारी विज्ञप्तिमा सार्वजनिक नाम उपर मात्रै दाबी–विरोध, सफाइको मौका र न्यायका लागि आह्वान गर्ने समय निर्धारण गरेको प्रति पनि संगठनले आपत्ति जनाएको छ । ‘व्यावसायिक तथा श्रमजीवी पत्रकारहरूलाई सदस्यता प्राप्ति र नवीकरणबाट वञ्चित गरेर सार्वजनिक गरिएको सूचीमा मात्रै दाबी विरोधको सूचना जारी गर्नुको कुनै औचित्य छैन, तसर्थ, सार्वजनिक सूचीमा समावेश गरिएका गैर पत्रकारहरूलाई शुद्धीकरण मापदण्ड अनुसार हटाएर सदस्यता प्राप्ति र नवीकरणबाट वञ्चित क्रियाशील पत्रकारहरूलाई सूचीमा समावेश गर्न प्रेस चौतारी माग गर्दछ’, प्रेस चौतारी नेपालले धारणा सार्वजनिक गर्दै लेखेको छ ।

अन्यथा, प्रेस चौतारी नेपालले पत्रकार महासंघको गरिमा रक्षा, गौरवमय विरासतको निरन्तरता र श्रमजीवी पत्रकारहरूको हित रक्षाको निम्ति जस्तोसुकै कदम चाल्न बाध्य हुने जानकारी गराएको छ । यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्व हुने पनि प्रेस चौतारी नेपालले स्पष्ट पारेको छ ।

Comments are closed.