आजबाट बडादशै सुरू: आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाडौं । आजबाट बडादशैँ सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्त्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसैँ घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ ।
आज २०८० सालको बडा दशैँको पहिलो दिन। आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घर घरमा जमरा राखेर दशैँ सुरु गरिन्छ ।

नौ दिनसम्म नौवटी देवीको पूजा गरी नवरात्र मनाउने गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । नौ दिनसम्म देवीको पूजा गरेर विजयादशमीको टीका लगाउने गरिन्छ । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको पर्वको रूपमा लिइन्छ ।

यस वर्षको फूलपातीको साइत बने कात्तिक ४ गते बिहान ९ः३५ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विजयादशमीको टीकाको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । देवी विसर्जनको साइत बिहान १०ः३७ बजे रहेको समितिले जनाएको छ ।

Comments are closed.