काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले सरकार भ्रष्टाचारविरुद्ध कठोर कदमबाट सरकार पछि नहट्ने बताएकी छिन्।
मंगलबार भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आफू नेतृत्वको सरकार चुनावी उद्देश्य मात्र लिएर नभइ ‘सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार’भएको उल्लेख गरिन्।
‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन,’ कार्कीले भनिन्।
उनले राज्यका संयन्त्रहरू सक्रिय रूपमा काम गरिरहेको बताउँदै भ्रष्टाचार नियन्त्रणका गतिविधिबाट अत्तालिएर प्रत्यक्ष-परोक्ष धम्की आउने अवस्थाबारे संकेत गरिन्। कार्कीले भनिन्, ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ।’
राष्ट्रसेवक तथा सम्बद्ध निकायका पदाधिकारीलाई विचलित नहुन आग्रह गर्दै उनले भनिन्,‘सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकहरुले व्यावसायिक स्वतन्त्रता उपयोग गरी निर्धक्कसँग अघि बढ्नुपर्छ।’






