निरोगी नेपाल’ अभियान संचालन गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निरोगी नेपाल’को अवधारणाबाट स्वास्थ्य क्षेत्रका नीति र कार्यक्रम कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुभएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार साँझ भएको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने कार्यक्रमबारेको छलफलमा प्रधानमन्त्री ओलीले राज्यको बजेट न्यून भएको अवस्थामा भौतिक र मानसिक स्वास्थ्यका क्षेत्रमा निरोधात्मक र उपचारात्मक विधिलाई प्राथमिकता दिने गरी कार्यक्रम निर्माण गर्न निर्देशन दिनुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रका जनशक्तिलाई आवश्यक सेवा सुविधा उपलब्ध गराइ बिरामीको सेवा परिचालन गर्न समेत निर्देश गर्नुभयाे ।

उनले अस्पतालमा आकास्मिक सेवालाई प्रभावकारी बनाउन र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थप जिम्मेवार बनाउने व्यवस्था गर्न निर्देशन दिनुभयाे ।

स्वास्थ्य र अन्य क्षेत्रमा अनावश्यक उपकरण तथा औषधि खरिद गर्ने र थन्क्याउने काम भइरहेको आफूलाई जानकारी प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्रीले राज्यको स्रोत र साधनको दुरुपयोग अन्त्य गर्न निर्देशन समेत निर्देशन दिएको ओलीको सचिवालयले जनाएको छ ।

Comments are closed.