शेखरकुमार श्रेष्ठका दुई लघुकथा सङ्ग्रह छाता र बोकाको खुसी विमोचन

नगरपालिका- ३ सेतीदेवी माविमा शेखरकुमार श्रेष्ठका दुई लघुकथा सङ्ग्रह छाता र बोकाको खुसी विमोचन भएको छ । पुस्तक दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, वरिष्ठ आख्यानकार ध्रुव मधिकर्मी, हाम्रो लघुकथा पाठशालाका व्यवस्थापक सत्या अधिकारी, नमस्ते आधुनिक लघुकथा मञ्चका व्यवस्थापक शेखर अर्याल, हाम्रो लघुकथा समाजका सदस्य रामकुमार पण्डितलगायत साहित्यकार कात्यायन, वीरेन्द्र बलामी, शान्ता तिम्सिना, दीपक लामिछाने, मधुसूदन घिमिरे, गोमा लुइँटेल, लक्ष्मी पौडेलले संयुक्त रूपमा विमोचन गर्नुभएको थियो ।

विमोचित कृतिसहित श्रेष्ठका दश कृति प्रकाशित छन् । नेपाली लघुकथाकार पूर्णप्रसाद ब्राह्मणको तस्बिरमा माल्यार्पणपछि शुरुआत भएको उक्त कार्यक्रम सुसेली साहित्यिक प्रतिष्ठान तथा हाम्रो लघुकथा पाठशालाको संयुक्त आयोजनामा सञ्चालन गरिएको थियो । कार्यक्रममा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले प्रतिष्ठानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी, शेखर अर्याल र रामकुमार पण्डितले कृतिको समीक्षा गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय गानका साथै हाम्रो लघुकथा गान बजाइएको थियो । त्यस कार्यक्रममा प्रतिष्ठानका सदस्य रमेश बलामीले स्वागत मन्तव्य राख्नुभएको थियो भने हाम्रो लघुकथा पाठशालाकी संस्थापक लता केसीबाट पठाइएको शुभकामना शान्ता तिम्सिनाले वाचन गरी सुनाउनुभएको थियो ।

कार्यक्रममा सुसेली साहित्यिक प्रतिष्ठानले दक्षिणकाली नगरपालिकाभित्र रहेका साहित्यकार एवं लेखक चिनाउने पुस्तकका साथै फर्पिङ जन्मभूमि भएका साहित्यकार किशोर पहाडीको जीवनी र कृतित्व सम्बन्धित पुस्तक चाँडै तयार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ । उक्त कार्यक्रममा स्थानीय समाजसेवी, साहित्यकार, विद्यार्थीलगायत पचहत्तर जनाको उपस्थिति थियो । उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष आवेश मिश्रको अध्यक्षता र सविता केसीको उद्घोषणमा सम्पन्न भएको थियो ।

Comments are closed.