काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरूको क्लब भएको बताएका छन् ।
मङ्गलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समाजवादी मोर्चा प्रौढहरूको क्लब भएको बताएका हुन् । उनले समाजवादको धारणामा एकरूपता हुन नसकेकाहरूको मोर्चा धेरै समय नटिक्ने दाबी गरे । उनले मोर्चामा संविधान च्यात्नेसम्म रहेको उल्लेख गर्दै संविधानप्रति समान दृष्टिकोण नरहेकाहरूको मोर्चाले उपलब्धि दिन नसक्ने बताए । उनले समाजवादी मोर्चा बनाएका दलहरू अस्तित्वको सङ्कटमा रहेको बताए ।
उनले भने ‘समाजवादी मोर्चा भनेर बनाउनुभएको छ, समाजवादको धारणाप्रति नै उहाँहरूको एकरूपता छ त ? समाजवादमा पुग्ने बाटोमा एकरूपता छ त ? उपेन्द्र यादवजीले समाजवादमा पुग्ने बाटो र नेत्रक्रिम चन्दले समाजवादमा पुग्ने बाटो एउटै छ ? तरिका एउटै हो ? संविधानप्रति उहाँहरूको समान दृष्टिकोण छ ? संविधान च्यात्नेहरू पनि त्यहीँ हुनुहुन्छ । कस्तो मोर्चा हुन्छ त्यो ? यो प्रौढहरूको क्लब हो । यसमा इतिहासको बखान हुन्छ । मेरो पालमा यो, मेरो पालामा यो । यो बुढाहरूको क्लब हो । भविष्यको सपना केही पनि छैन । समाजवादी मोर्चा बनाएर दलहरू अस्तित्वको सङ्कटमा छन् । मोर्चा पछि आफैँ झगडा गर्दछन्, छुट्टिन्छन् ।’
सांसद भट्टराईले संसदमा पेस गर्ने डकुमेण्ट परिष्कृत हुनुपर्नेमा अहिले विभिन्न त्रुटिहरू भइरहेको बताए । उनले मन्त्रीको नियतका कारण भइरहेका गल्तीलाई स्वीकारेर अघि बढ्न नसकिने बताए । उनले छलफलमा मन्त्रीहरू नआएको भन्दै सरकार सदनप्रति जबाफदेही बन्न नसकेको बताए ।
उनले भने ‘संसदमा पेस गर्ने डकुमेण्ट धेरै नै परिष्कृत भएर आउनुपर्छ । यो मानवीय त्रुटि भन्दा पनि नियत हो । सबै प्रदेशको नाम भइसकेपछि मन्त्रीले नाम नै नलेख्ने ? बजेट कसरी इन्ट्री हुन्छ । यसमा प्रधानमन्त्रीज्युले पनि कमाण्ड नगर्नुभएको हो की ? आफ्ना मन्त्रीलाई बोलाएर संसदमा कसरी प्रस्तुत हुने भन्नुपर्छ की । छलफलमा नै मन्त्रीहरू आउँदैनन् । सांसदलाई ध्यान दिन सकिएको छैन । सरकार सांसदप्रति जबाफदेही छैनन् । उनीहरूको हेलचेक्र्याइँ छ । सत्ता पक्षकै नेताहरू असन्तुष्टि हुनुहुन्छ बजेटमा । बजेट फेल भएपछि सरकार स्वतः जान्छ ।’
सांसद भट्टराईले बजेटप्रति सत्ता पक्षकै सांसदहरू असन्तुष्ट रहेको भन्दै बजेट फेल भए सरकार स्वतः ढल्ने बताए ।
Comments are closed.