भूकम्प मापन तथा अनुसन्धान केन्द्रको टोली जाजरकाेटमा

काठमाडाैं । भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली जाजरकाेट पुगेको छ ।

असाेज १७ गते राति जाजरकाेटकाे रामीडाँडा केन्द्रविन्दु भएर गएकाे ६ दशमलव ४ रेक्टर स्केलकाे भूकम्पकाे थप अध्ययन एवं अनुसन्धान गर्न केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीसहितको टोली शनिबार साँझ जाजरकोट पुगेको हो ।

टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । ‘कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे टोलीले अध्ययन गर्नेछ’ – उहाँले भन्नुभयो ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा. अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको बताउनुभयाे ।

शुक्रबार राति भूकम्प गएपछि शनिबार राति चार वटा पराकम्प गइसकेको छ । केन्द्रका अनुसार त्यही ठाउँमा केन्द्रबिन्दु भएर राति १२ बजेर ८ मिनेटमा ४ दशमलव ५, १२ बजेर २९ मिनेटमा ४ दशमलव २, १२ बजेर ३५ मिनेटमा ४ दशमलव ३ र शनिवार दिउँसो ३ बजेर ४० मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको छ ।

साना पराकम्प भने धेरै गइसकेका छन् ।

याे भूकम्पमा परेर अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा १ सय ५७ व्यक्तिको ज्यान गइसकेको छ । दुई सय जना बढी व्यक्ति घाइते भएका छन् ।

– रासस

Comments are closed.