सेल्फ पोट्रेट’ सार्वजनिक

पोखरा—स्थानीय तह चुनाव लागेको छ। उम्मेदवारले मनोनयन दर्ता गराइरहेका छन्। प्रमुख पदमा महिला उम्मेदवारको उपस्थिति न्यून छ। चुनावको छेकोमा कवि रीता अधिकारी ‘ऋतु’ ले कविता संग्रह ‘सेल्फ पोट्रेट’ सार्वजनिक गर्दै सोधिन्, ‘सत्तामा किन बजिरहन्छ भाले शंख?’

उखुबारीहरूमा

निर्मलाहरू चिच्याइरहँदा

शीतल निवास किन ब्युँझँदैन?

के सत्ता

पुलिंगी हो?

साहित्यिक लेखन यात्राको झन्डै तीन दशकपछि ऋतुले आफ्नो पहिलो कविता संग्रह ल्याएकी हुन्। साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति शनिबार पोखरामा लोकार्पण गरे। फुटकर रूपमा कविता, गीत, गजल, मुक्तक, समालोचनामा कलम चलाउँदै आएकी ऋतुको कविता मूल विधा हो। उनले तीन दशकसम्म लेखेका कविता संगृहीत गरी कृतिका रूपमा ल्याइन्। सरुभक्तले ऋतु पोखरेली कवितामा उदीयमान भएको बताए। उनले भने ‘नेपाली काव्य फाँटमा भरोसालाग्दो उपस्थिति हुनेमा विश्वस्त छु।’

तीर्थ श्रेष्ठले सरल र सहज भाषाशैलीमा गहन काव्यचेत पस्किनु आफैंमा चुनौती रहेको धारणा राखे। उनले भने, ‘चुनौतीलाई ऋतुले सहजताका साथ लिएकी छन्।’ उनले ऋतुका कवितामा नचाहिँदो शब्द आडम्बर, अप्रितम बिम्ब नरहेको बताए। समीक्षा गर्दै कवि सरस्वती प्रतीक्षाले अधिकांश कविताले नारीमाथिका विभेद, लैंगिक असामानता र विभेदका पर्खालहरूका विरुद्ध दरो गरी उभिएकामा खुसी व्यक्त गरिन्। कवितामा रहेको शक्ति र सौन्दर्यको चर्चा गर्दै कविलाई एक साथ विद्रोह र प्रेम व्यक्त गर्न सक्षम उनले अर्थ्याइन्

पोखरेली युवा सांस्कृतिक परिवारले गरेको कार्यक्रममा दीपक समीप, हरिदेवी कोइराला, रमेश श्रेष्ठ, सञ्जीव पौडेल, सरस्वती श्रेष्ठ सरू, उपेन्द्र पौडेललगायतले कवि ऋतुको कृतिमाथि चर्चा गरे। ‘सेल्फ पोट्रेट’ मा लामा–छोटा गरी ४१ वटा कविता छन्

 

Comments are closed.