छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

काठमाडौं, १३ कात्तिक

नवलपरासी(पूर्व), बुलिङटार गाउँपालिका-२ मथारस्थित सडकमा ना.६ ख ७५८० नम्बरको बस आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी १ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा बसमा सवार पाल्पा रम्भा गाउँपालिका-१ बस्ने ४१ वर्षीय तारा बिक सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका बसका चालक सहित ३० जनालाई उपचारको लागि चितवनतर्फ पठाइएको छ ।

धनुषा, विदेह नगरपालिका-५ स्थित सडकमा प्र.२-०२-००५ प ५३८१ नम्बरको मोटरसाइकल र स.१० प ७९७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा प्र.२-०२-००५ प ५३८१ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-७ जोगियारा बस्ने १८ वर्षीय रितेश कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । स.१० प ७९७५ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको   छ ।

रौतहट, वौधिमाई नगरपालिका-६ पिपरिया टोलस्थित सडकमा कोपवाबाट पिपरिया गाउँतर्फ जाँदै गरेको ना.६ त ५०८५ नम्बरको ट्याक्टरको फारमा राखिएको पटा(हेंगा) ले लागेर पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया सुमरिया भन्ने फुला देवी गुहारको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.