बंगलादेशमा शेख हसिनाको पार्टीको जित, लगातार चौथो पटक प्रधानमन्त्री बन्दै

काठमाडौं । विपक्षी दलले बहिस्कार गरेको बंगलादेशको विवादस्पद मतदानमा प्रधानमन्त्री शेख हसिनाको दल विजयी भएको छ ।अवामी लिगले संसदीय निर्वाचनमा बहुमत हात पारेसँगै शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन् । पछिल्लो १५ वर्षदेखि उनी बंगलादेशको प्रधानमन्त्री बनिरहेकी छन् । सन् २००९ देखि उनी सत्तामा रहँदै आएकी हुन् । प्रधानमन्त्रीका रुपमा भने उनको यो पाँचौँ कार्यकाल हुनेछ ।
मत परिणामअनुसार २ सय ९९ सिटमा हसिनाको अवामी लिग र उसको सहयोगी दलले २ सय ५२ सिट जितिसकेको छ । स्वतन्त्र उम्मेदवारले ५२ र जातीय पार्टीले ११ सिट जितेका छन् । मतपरिणामको अन्तिम नतिजा भने सार्वजनिक बाँकी रहेको अधिकारीहरुले जनाएका छन् । ३ सय सिटमा एक उम्मेदवारको निधन भएपछि एक निर्वाचन क्षेत्रको मतदान रोकिएको थियो ।
सन् २०१८को चुनावमा ८० प्रतिशत मतदाताले मतदान गरेका थिए । तर आइतबारको मतदानमा ४० प्रतशित मात्रै मत खसेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । खालेदा जिया नेतृत्वको विपक्षी बंगलादेशी नेसनलिस्ट पार्टीले यो आमनिर्वाचन बहिष्कार गरेको थियो ।

Comments are closed.