पूर्वआईजीपी राणाको मुद्दामा कारण देखाऊ आदेश जारी

काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणाले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
उनी सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका आईजीपी राणाले पेन्सन रोकिएपछि सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमा न्यायाधीश विनोद शर्माको एकल इजलासले लिखित जवाफ माग गर्दै उनको पेन्सन रोकिनुको कारण पेस गर्न विपक्षीहरूको नाममा आदेश जारी गरेको हो ।भ्रष्टाचार मुद्दामा दोषी ठहर भए पनि पेन्सन खाइरहेका राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रले रोकिएपछि साउन १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
सुरक्षाकर्मीका लागि गुणस्तरहीन सामाग्रीका लागि २८ करोड, ८१ लाख, ६१ हजार, ६ सय २९ रुपैयाँ ३० पैसा भुक्तानी दिँदै भ्रष्टाचार गरेको दाबीसहित आयोगले तीन जना पूर्व आइजीपी र ठेकेदारसहित ३६ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Comments are closed.