सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै

जनकपुरधाम । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गरिँदै छ ।दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिने भएकाले तेस्रो पटक धनुषा जिल्ला अदालतमा पेश गर्न लागिएको हो ।१० बजेपछि उनलाई म्याद थपको लागि पेश गर्ने तयारी रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया एक सातादेखि धनुषा प्रहरीको हिरासतमा छन् ।स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीको निगरानीमा उनी अहिले सोही अस्पतालमा छन् ।प्रहरी प्रवक्ता डिएसपी अवाले अदालतमा पेश गर्नुअघि सिरोहियाको स्वास्थ्य अवस्था सुधार भएको वा नभएको भन्ने विषयमा चिकित्सकसँग बुझ्ने काम भइरहेको बताए । उनका अनुसार स्वास्थ्य अवस्था जटिल भए भिडियो कन्फरेन्स मार्फत जिल्ला सरकारी वकिलको कार्यालयसँग छलफल गरी अदालतमा म्याद थपको लागि सिफारिस गरिने छ ।गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर ल्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो ।

Comments are closed.